तपाईँ सुन्दै हुनुहुन्छः

पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो

ललितपुर । ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने भएसँगै अग्निशालामा २४ गेज मोटाइ तामाको छानो हाल्ने काम सम्पन्न गरिएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्ने अनुमान गरे पनि जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी २४ गेज मोटाइको तामा हाल्याँै ।” उहाँका अनुसार अग्निशालामा छानो छाउन महानगरपालिकाले रु ४० लाख सहयोग गरेको थियो ।

विसं १९९० को भूकम्पअघि सो अग्निशालामा झिङ्गटीको छाना छाइएको थियो । तामाको छानोले अब १०० वर्षसम्म पनि काम दिने विश्वासका साथ महानगरपालिकाले दिएको अनुमतिमा केही फेरबदल गरी काम गर्दा लगभग रु ५० लाख खर्च भएको शर्माको भनाइ छ ।

अग्निशाला मर्मत तथा सुधार गर्न अपुग भएको रु १० लाख भने आन्तरिकरूपमा व्यवस्थापन गरिएको समितिले जानकारी गराएको छ । विसं २०७२ को गोरखा महाभूकम्पले अग्निशाला भवनमा त्यति क्षति पु¥याएको थिएन । अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको छ । सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ । प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएकाबाहेक अन्य दाउरा बालिने गरिन्छ । यहाँ कृष्ण वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ ।” प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ । सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका परिवारले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताउनुभयो ।

अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनि बल्छन् । पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ । सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत अग्निशालामा तामाको छानो फेर्न स्थानीय सरकार सफल भएको भन्दै महानगर प्रमुख चिरीबाबु महर्जनले खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button