२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा बाढी : पुलसहित १७ घर बगायो (अपडेट)

जीवन श्रेष्ठ २०७८ साउन १७ गते ९:४६

चौतारा । शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटेस्थित रातो पुल बगाएको छ । बाढीले १७ भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ । 

हेलम्बुको लाइफलाइनको रुपमा स्थापित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाको ६ वटा वडा, मेलम्ची नगरपालिकाको २ वटा वडा र पाँचपोखरी थाङपाल गाउँपालिकाको १ वटा वडामा आवतजावत गर्ने सडक मार्ग टुटेको छ ।शनिबार बेलुकीदेखि निरन्तर आएको बाढीले आइतबार बिहान सो पुल बगाएको हो । पुल बगाएपछि हेलम्बुसँगको सम्पर्क संपूर्णरुपमा टुटेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनु भयो  ।

हेलम्बु पुग्नका लागि अन्य वैकल्पिक बाटो नभएको हुँदा पुल जोगाउन जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक, स्थानीय जनता र राजनीतिक पार्टीले खोलाको धार परिवर्तन गर्न पुल छेउछाउ ढुङ्गा जाली लगाउने कार्य गरेका थिए ।‘हाम्रा सबै प्रयासहरू खेरो गएको छ’, बागमती प्रदेशका प्रदेश सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले दुखेसो पोख्नु भयो । गत असार १ गते आएको बाढीले सो पुल जोखिममा परेपछि प्रदेश सदस्य युवराज दुलालको नेतृत्वमा माओवादी केन्द्रले करिब १५ दिन श्रमदान गरेर पुल छेउछाउ ढुँगे जाली लगाएको थियो । पुल बगाएपछि हेलम्बु क्षेत्रले असाधारण सङ्कटको सामना गर्नु पर्ने स्थिति आएको उहाँको भनाई छ ।‘पुल जोगाउन हरतरहले प्रयास गरियो तर केही लागेन’ एमाले जिल्ला नेता हस्त पण्डितले भन्नु भयो ।

नेता पण्डितको नेतृत्वमा पुल र चनौटे बस्ती जोगाउन हिजो मात्र खोला किनारामा फलामे डन्डीको बक्सा बनाएर ढुङ्गा भर्ने काम भएको थियो ।गत असार १ गतेको बाढीले मेलम्ची बजारदेखि हेलम्बुसम्मका सबै पुल बगाएको थियो । यो रातो पुल पनि बगाएपछि अब मेलम्ची बजारदेखि माथि  कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनु भयो । शनिवारदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन र चनौटे बजारको करिब १७ वटा घर पनि बगाएको प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो ।

सम्बन्धित