तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाको वित्तीय प्रगति ८८ प्रतिशत

झापा । खाद्यान्न उत्पादनमा अग्रणी जिल्ला मानिएको झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आ. व. ०७७–०७८ मा झन्डै ९० प्रतिशत वित्तीय प्रगति गरेको छ ।


कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने र किसानलाई समुचित प्रतिफल दिलाउने उद्देश्यले सङ्घीय सरकार मातहत सञ्चालन भइरहेको परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई झापाले आ. व. ०७७–०७८ मा विभिन्न कृषि कार्यक्रमका लागि ५ करोड ६८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।


सो कार्यालयलाई विनियोजन गरिएको ६ करोड ४० लाख २ हजारमध्ये लगभग ७२ लाख रुपैयाँ खर्च हुन सकेन । यसरी, हेर्दा कूल बजेटको ८८.८७ प्रतिशत रकम खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतभन्दा बढी रकम खर्च भएको छ ।


झापामा परियोजनामार्फत कचनकवल गाउँपालिकाका सात वटै वडा समेट्ने गरी ४१०० हेक्टरमा धान सुपर जोन, भद्रपुरका चार वटा वडा र अरू सबै पालिकाहरूमा २००–२०० हेक्टरको धान सुपर जोन क्लष्टर, ७८८ हेक्टरमा सुपारी जोन, ५०० हेक्टरमा मकै जोन र २५५ हेक्टरमा रबर जोन कार्यक्रम सञ्चालनमा रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।


झापामा परियोजना सञ्चालन भएपछि आधुनिक खेती प्रणालीमा विकास, खेतीको क्षेत्रफल विस्तार, उत्पादनमा उल्लेख्य वृद्धि र किसानलाई समुचित लाभ प्राप्त भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button