तपाईँ सुन्दै हुनुहुन्छः

५० लाखको अवैध सामानसहित ७ जना पक्राउ

सुर्खेत । व्यापारीहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको खुकुलो निषेधाज्ञाको फाइदा उठाउँदै कर्णाली प्रदेशमा अवैध मालसामान भित्र्याउने क्रम जारी राखेका छन् ।

पछिल्लो दुई दिन यता सुर्खेत प्रहरीले करिब ५० हजार मूल्यको अवैध मालसामानसहित ७ जनालाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–७ का ३७ वर्षीय तुलाराम न्यौपाने, मकवानपुरको आम भन्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय रोमप्रसाद घिमिरे, बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहरा, सुर्खेतकै वीरेन्द्रनगर–३ का ३८ वर्षीय धनिराम सुनार, वीरेन्द्रनगर–१२ का ५२ वर्षीय हर्कबहादुर सुनार, लेखबेशी नगरपालिका–५ का २९ वर्षीय धिरेन्द्र शाही र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का ५५ वर्षीय भिउसने बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले शुक्रवार छिन्चु चेकप्वाईन्टमा बाँकेको नेपालगञ्जबाट सुर्खेततर्फ आईरहेको कर्णाली प्रदेश–०२००१ख–००१२ नम्वरको बसमा चेकजाँच गर्दा करिब १ लाख ६५ हजार ६ सय ३७ रुपैयाँको अवैध मालसामान, चितवनबाट सुर्खेत आउँदै गरेको प्रदेश नं.३–०१०२३च–७१४२ नम्बरको जिपमा राजश्व छली अवैध ल्याइएको २ लाख ८ सय ५७ रुपैयाँको ३ सय ९५ थान पीभीसी प्यानल बरामद गरेको छ । त्यस्तै बबई चेकप्वाईन्टमा बाँकेको नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–००२ख–०१०९ नम्वरको बसमा राजश्व छली अवैध ल्याइएको ३ लाख २४ हजार १० रुपैयाँको अवैध मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीले बताउनु भयो ।

उहाँले विभिन्न प्रकारका अवैध मालसामान ओसार पसार भइराखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुको नेतृत्वमा गरिएको चेकजाँचका क्रममा अवैध समान बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको जानकारी दिनु भयो ।

उहाँका अनुसार बिहीबार छिन्चु चेकप्वाईन्टमा काठमाडौँबाट जुम्ला जान लागेको ना. ६ ख– ६३३८ नम्बरको बसमा चेकजाँच गर्दा ४० लाख २६ हजार ५ सय ५३ रुपैयाँको अवैध मालसामान बरामद गरी चालकसहितलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ । त्यस्तै बिहीबार नै भेरीगंगा नगरपालिका–१०, सुर्खेत–नेपालगञ्ज रोडबाट अवैध खनिज पदार्थ ओसार पसार भइरहेको सूचनाको आधारमा भे ४प–९३३२ नम्वरको मोटरसाइकलसहित १४० ग्राम निलो रङ्गको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ बरामद गरेर आवश्यक कारबाहीका लागि खनिज तथा भूगर्भ कार्यालय सुर्खेत पठाइएको डीएपपी घर्तीले जानकारी दिनु भयो । उहाँले अवैध खनिज ओसार पसारमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button