तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिक जारी, नेपालको चुनौती समाप्त

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद (टोकियो ओलम्पिक) जापानमा जारी छ ।


टोकियोमा भइरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ । शुक्रवार बिहान एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो । 


टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिक खेलेका हुन् ।


सदाझैँ, टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित रह्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । सन् १९६४ मा टोकियोमै आयोजना भएको ओलम्पिकबाट नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, नेपालको ओलम्पिक यात्रा ६ दशक पुग्नै लाग्दा नेपालको सहभागिता ‘सहभागिता’ मै सीमित छ ।


तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए ।


जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा रहेको छ । चीनले सातौँ दिनको खेल सकिँदासम्म १८ स्वर्ण ९ रजत र ११ कांस्यसहित ३८ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । 


आयोजक जापान १७ स्वर्ण ४ रजत र ७ कांस्य सहित दोस्रो स्थानमा छ  । अमेरिकाले १४ स्वर्ण, १६ रजत र ११ कांस्य सहित तेस्रो स्थान ओगटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button