तपाईँ सुन्दै हुनुहुन्छः

‘जुनसुकै सरकार आए पनि चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन हुँदैन’

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होऊ याङछीले नेपालमा जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभएको छ । 


शुक्रवार अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुहुँदै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताउनुभयो ।


चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्रदान गर्ने जानकारी राजदूत होउले दिनुभयो । 


भूकम्प पछिको पुन निर्माणमा चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरूको पुन निर्माणमा सहयोग गरेको र आधा जसो काम सकिएको उल्लेख गर्दै चिनियाँ राजदूत होउले बाँकी रहेका अन्य परियोजनाहरूको पुनर्निर्माणको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिनुभयो । 


शिष्टाचार भेटका लागि शुक्रवार अर्थ मन्त्रालय पुग्नु भएकी नेपालका लागि चिनियाँ राजदूत होऊ याङछी सँगको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुन निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । 


अर्थमन्त्री जनार्दन शर्माले चीनबाट थप खोप किन्नको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा सहयोग र सहजीकरण गर्न राजदूत होउलाई आग्रह गर्नुभयो ।


भेटमा अर्थमन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा निर्माण भइरहेका सडक, जलविद्युत, विमानस्थल लगायतका निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरूको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button