तपाईँ सुन्दै हुनुहुन्छः

‘जोखिमको आङ्कलन गरिसकेको हुनाले अब चुक्नु हुँदैन’

काठमाडौँ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुनेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । 

मानिसहरूले स्वास्थ्य मापदण्ड पालना नगर्ने र हेलचेक्र्याइँ गरेका कारण कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुने र यसबाट बालबालिका बढी प्रभावित हुने भएकाले बेलैमा तयारी थाल्न सरकारले सम्बन्धित स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका बढी सङ्क्रमित हुने भन्दै बालबालिकालाई केन्द्रमा राखेर अहिले नै तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो । 

सह प्रवक्ता डा.अधिकारीले कोरोना सङ्क्रमणको सङ्ख्या दैनिक उकालो लागिरहेको अवस्थामा उपलब्ध कोरोना विरुद्धको खोप बालबालिकाले लगाउन नमिल्ने र व्यवहार परिवर्तनले गर्दा तेस्रो लहरमा बालबालिका बढी सङ्क्रमित हुनसक्ने भएकाले सबैलाई सतर्क बन्न आग्रह गर्नुभयो । 

सह प्रवक्ता डा. अधिकारीले भन्नुभयो “समय हुँदा नै सङ्क्रमण समुदायमा नै रोक्ने गरी व्यवहार गर्न सक्यौ भने सङ्क्रमणको तेस्रो लहर आउँदैन । मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित निकायले जोखिमको आङ्कलन गरिसकेको हुनाले अब हामी चुक्नु हुँदैन ।” 

सरकारले २०७८ जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट कोरोनाको नयाँ प्रजाति समुदायमा छ कि छैन भनेर विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित नमुनाहरूको भारतको नयाँ दिल्लीमा जिनोमिक पहिचानका लागि पठाएको थियो । 

जसमा ४७ नमुनाको जिन सिक्वेन्स गर्दा शतप्रतिशतमा डेल्टा भाइरस भेटिएको र ती मध्ये ६ प्रतिशतमा डेल्टा भाइरसकै उत्परिवर्तित रुप डेल्टा प्लस भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले दोस्रो लहरमा फैलिएको अल्फा भाइरसलाई डेल्टा भाइरसले विस्थापित गरेको जानकारी दिनुभयो । 

“समय हुँदा नै सङ्क्रमण समुदायमा नै रोक्ने गरी व्यवहार गर्न सक्यौ भने सङ्क्रमणको तेस्रो लहर आउँदैन । मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित निकायले जोखिमको आङ्कलन गरिसकेको हुनाले अब हामी चुक्नु हुँदैन ।” 

डा.झाले अहिलेसम्मको भेरियन्टमा सबैभन्दा सङ्क्रामक र छिटो फैलिने डेल्टा भाइरस भएको प्रमाण फेला परेको बताउनुभयो । 

साउन ५ गते कोरोना भाइरसको संक्रमणदर २० दशमलव २ प्रतिशत रहेकोमा  यही सातामा बढेर २४ दशमलव २ प्रतिशत पुगेको मन्त्रालयको तथाङक छ । 

सरकारले खोप अभियान जारी राखे पनि सबै नागरिकलाई खोप नलगाएसम्म सबै उमेर समूह सङ्क्रमणको उच्च जोखिममा भएको विज्ञहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button