तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले कोरोना नियन्त्रण, बाढी पहिरो र डुबानले ल्याएको समस्या र समसामयिक राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धि सम्झौता गर्नुपर्ने बताउनुभएको छ । 


सांसद रावलले नेपाली जनताको स्वाभिमानलाई चोट पुर्‍याउने गरी आएका मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता भैसकेको आशङ्का गर्नुहुँदै सम्झौता सम्बन्धी सम्पूर्ण प्रतिलिपि सांसदहरुले पढ्न पाउनुपर्ने माग गर्नुभयो ।


बैठकमा सांसद प्रदीप गिरीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो । 


उहाँले २०६२–६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका संवाहकहरू अहिले सरकारमा रहेको अवस्थामा यो सरकार असफल भयो भने सबै असफल हुने कुरामा समयमा नै सचेत बन्नुपर्नेमा जोड दिनुभयो । 


सांसद गिरिराजमणि पोखरेलले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो ।


उहाँले सरकारसँग कोभिडको नियन्त्रण जस्ता थुप्रै चुनौती रहेको बताउँदै जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबान जस्ता समस्या देखिएकाले नियन्त्रणका लागि समयमा नै ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।


बैठकमा सांसदहरुले उहाँले कोभिडको संक्रमण नियन्त्रणका लागि स्थानी तहले प्रभावकारी भूमिका खेलेको भन्दै स्थानीय तहलाई थप शक्तिशाली बनाउनुपर्ने बताउनुभयो ।


कोरोनाको तेस्रो लहरले झनै जोखिम ल्याउने भन्दै प्रत्येक प्रदेशमा एउटा–एउटा केन्द्रीय अस्पताल बनाउन र प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न सांसदहरुले माग समेत गर्नुभयो ।  


उहाँहरूले बाढी, पहिरो र चुवानको समस्या बढ्दै गएकाले नदी नियन्त्रणका लागि प्रभावकारी रणनीति ल्याउन र पीडितका लागि राहत आवासको व्यवस्था समयमा नै गर्न माग गर्नुभयो ।  


बैठकमा डा. सुरेन्द्र प्रसाद यादव, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, रंगमति शाही, महेश्वरजंग गहतराज, रेणुका गुरुङ लगायतका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।   


यसैबिच प्रतिनिधि सभाको आजको बैठकमा सकारको वार्षिक प्रतिवेदन “आर्थिक वर्ष २०७६–०७७” पेस भएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६–०७७” सभामा पेस गर्नुभयो ।


प्रतिनिधि सभाको अर्को बैठक साउन १९ गते मङ्गलवार दिउसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button