तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले दिएको अधिकारभन्दा बाहिर कोही पनि छैन : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । 

बिहीबार शपथ ग्रहण गर्नुभएका शेरचन आज प्रदेश मुकाम बुटवलमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । 

पद बहाली गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकारभन्दा बाहिर कोही पनि नरहेको बताउनुहुँदै आफूले पनि त्यहीँभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

उहाँले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने बताउनुहुँदै शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिबद्धता जनाउनुभयो । 

गण्डकी प्रदेशको पूर्व प्रदेश प्रमुख समेत हुनुभएका शेरचनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गर्नुभएको थियो सो अवस्थाबारे स्मरण गर्नुहुँदै शेरचनले यति बेला पुनः आवश्यकताले आफूलाई लुम्बिनीमा पठाइएको जिकिर गर्नुभयो ।

उहाँले जनताको समस्या र उनीहरूको दुःखमा साथ दिनु नै नेताको कर्तव्य भएको बताउनुहुँदै सङ्घीय व्यवस्था नेपालको हकमा नयाँ भएकोले तीन तहको व्यवस्था नौलो अभ्यास भएको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button