तपाईँ सुन्दै हुनुहुन्छः

चामेमा आफ्नै लयमा बग्न थाल्यो मर्स्याङ्दी

 मनाङ ।     गत  असार १ गतेको बाढी पहिरोका कारण विभिन्न रुख मुढाहरू अड्काइ ५ असारदेखि थुनिएको चामे– ङिस्याङ जोड्ने पुल खोलिएको छ । पुल खोलिएसँगै थुनिएको मर्स्याङ्दी नदी पुरानै लयमा बग्न थालेको छ । मर्स्याङ्दी नदीले बगाएर ल्याएको ढुङ्गा र काठका मुढाले थुनिँदा ठूलो बाँध बन्न गई नदीले धार परिवर्तन  गरेको थियो भने चामे बजार नै जोखिममा परिरहेको थियो । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले एक्स्काभेटर र सुरक्षाकर्मीको सहायताले नदीमा थुप्रिएको ढुङ्गा र रूखहरू पन्छाएपछि मर्स्याङ्दी नदी बिहीबारदेखि पुरानै लयमा बग्न थालेको बताउनुभयो । 

नदी थुनिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ढुङ्गा र काठका मुढा पन्छाएको मनाङका डिएसपी सुवास खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैको अथक प्रयासपछि ४० दिनमा मर्स्याङ्दी नदी पुरानै लयमा बगेको छ ।’ माथिल्लो मनाङ जाने एक मात्र बेलिब्रिज पुल पनि जोगिएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय, सुरक्षाकर्मीको पहल र एक्स्काभेटरको सहायतामा नदीमा अड्किएका काठका मुढा र ढुङ्गा पन्छाएसँगै मर्स्याङ्दी नदी पुरानै लयमा बग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षाका कारण मर्स्याङ्दी नदीको बहाव बढेपछि मर्स्याङ्दीको धार परिवर्तन भई सदरमुकाम चामेमा रहेको लोकप्रिय माविको तीन वटा भवनसमेत बगाएको छ ।

उहाँका अनुसार चामे बजारको बीचबाट बग्ने घट्टेखोला र मर्स्याङ्दी नदीले बगाएर ल्याएको ढुङ्गा र ठूलाठूला रूख मर्स्याङ्दी नदीमा अड्किएपछि चामेमा  ताल बनेको थियो । 

अध्यक्ष घलेका अनुसार मनाङका प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एक्स्काभेटरको सहायताबाट मर्स्याङ्दी नदीमा अड्किएको ढुङ्गा र माटो पन्छाइएको हो । 

सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले मर्स्याङ्दी खुलाउन आफूसहित सुरक्षाका सबै निकाय लागिपरेको बताउनुभयो  । साउन ६ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङका डिएसपी पन्थीको कमान्डमा खटिएको विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त टोलीले दैनिकजसो मर्स्याङ्दी नदीको ढुङ्गा र काठ पन्छाउने कार्य गरेको थियो ।

 सशस्त्र, नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर माथिल्लो मनाङ जाने बेलिब्रिज पुलसमेत जोगाएका छन् । डिएसपी पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि नदीमा रहेका मुढा काटेर पन्छाएपछि पुल जोगिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरे तापनि सतर्कता अपनाउन मनाङवासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुवातमै मनाङमा बाढी पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button