तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा मन्त्रीद्वारा कमला नदीको कटानबाट भएको क्षतिको स्थलगत अनुगमन


जनकपुरधाम  । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले धनुषाको कमला नदीले कटान गरेको क्षेत्रको आज स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ ।  

उहाँले धनुषाको सबैला नगरपालिका वडा नंं १३ किरतपुर, हथमुण्डा लगायतका स्थानहरूमा हालै कमला नदीमा आएको बाढीका कारण भएको क्षति तथा रोकथामका लागि भएको प्रयास र थप गर्नुपर्ने कामका विषयमा जानकारी लिनुभयो । 

कमला नदीमा हालै आएको बाढीबाट करिब ८ सय मिटरमा बाँध कटानी गर्दा धनुषा जिल्लाको पूर्वी भागको सबैला, कमला, शहिदनगर नगरपालिका तथा जनकनन्दनी गाउँ पालिका उच्च जोखिममा परेको छ । 

अनुगमनका क्रममा कमला नदी नियन्त्रणका आयोजना प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईले तटबन्ध जोगाउनका लागि अस्थायी रुपमा गरिएको प्रयास तथा थप गर्नुपर्ने कामका बारेमा मन्त्री भूषाललाई जानकारी गराउनुभएको छ । 

सो अवसरमा कमला नदी नियन्त्रण आयोजनाका प्रमुखले हिउँदमा गर्नुपर्ने स्थायी समाधानको विषयमा जानकारी दिनुभएको थियो ।

उहाँले नदी नियन्त्रणका लागि तत्कालीन रुपमा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा भएको प्रयासको बारेमा जानकारी पनि मन्त्री भुषाललाई गराउनु भएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै मन्त्री भूषालले जनताको जीउधनको रक्षाका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रयास गरेर नदी नियन्त्रण तथा कटान भएको तटबन्धको पुनः निर्माण गरिने बताउनुभयो । 

उहाँले बाढीले कमला नदीमा निर्माण भएको तर बाढीले भासिएको पुलको पुनः निर्माण गरिने बताउनुभयो । 

कमला नदीले स्थलगत निरीक्षणमा मन्त्रालयका सचिव मणिराम नेपाल, सिँचाई विभागका महानिर्देशक, पूर्व मन्त्री एवं माओवादीका नेता मातृका यादव समेत पुग्नुभएको थियो । 

यसैबीच आजै नेकपा (माओवादी केन्द्र) धनुषाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बाल्नुहुँदै मन्त्री भुषालले विद्युत्को महसुल चाँडै घटाउने जानकारी दिनुभयो ।

उहाँले विद्युत्को खपत बढाउनका लागि महसुल घटाउन लागेको बताउनुहुँदै २० युनिटसम्म प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क दिने पक्षमा आफू रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो । 

This image has an empty alt attribute; its file name is 225917579_583688809676344_4380291082024267475_n.jpg

उहाँले अहिले विशेष परिस्थितिमा बनेका सरकारले जनताको पक्षमा काम गर्ने बताउनुहुँदै सरकारले  विधि, प्रक्रिया तथा संविधानको भावना अनुसार काम गर्ने भन्नुहुँदै कार्यकर्तालाई  एक ढिक्का भएर अगाडी बढ्नका लागि आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button