तपाईँ सुन्दै हुनुहुन्छः

कृषि सम्बन्धी गतिविधि तथा कार्यक्रम प्रसारणका लागि सम्झौता

विराटनगर । कृषि सम्बन्धी गतिविधि किसान समक्ष पुर्‍याउन रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटा र कृषि विकास निर्देशनालय प्रदेश न १ बीच आज सम्झौता भएको छ ।

रेडियो नेपालले कृषि सम्बन्धी गतिविधि तथा कार्यक्रम छलफल प्रसारण गरेर किसानलाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले प्रादेशिक कृषि कार्यक्रम प्रसारणका लागि दुुवैपक्ष बीच सम्झौता भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।

प्रत्येक शनिवार साढे पाँच बजेदेखि १५ मिनेट प्रसारण हुने सो कार्यक्रम  चालु आर्थिक वर्षमा सञ्चालनका लागि ३ लाख ५५ हजार ४ सय रकम बराबरको सम्झौता भएको हो । 

सम्झौता पत्रमा रेडियो नेपालको तर्फबाट कार्यक्रम अधिकृत नयराज नेपाल, वरिष्ठ कार्यक्रम सहायक बलराम दाहाल, वरिष्ठ व्यापार सहायक देवकला कार्की तथा कृषि विकास निर्देशनालयका प्रमुख प्रकाश कुमार डाँगीले हस्ताक्षर गर्नुभयो ।

रेडियो नेपालबाट प्रसारित कृषि सम्बन्धी कार्यक्रमको स्थानीय स्तरमा परेको सकारात्मक प्रभाव र कृषि सम्बन्धी किसानमा आएका ज्ञान एवं सचेतनाका कारण विगत तीन वर्षदेखि कार्यक्रम सञ्चालनका लागि आफ्नो कार्यालयले रेडियो नेपालसँग सम्झौता गर्दै आएको कार्यालय प्रमुख डाँगीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button