२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक सिकाइका लागि निःशुल्क सिम कार्ड वितरण

विष्णु खनाल २०७८ साउन १४ गते १८:२३

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यार्थीहरूलाई निःशुल्क सिम कार्ड वितरण गरेको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठन–पाठन हुने स्थिति नरहेका बेला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्याकेजसहितको सिम कार्ड निःशुल्क उपलब्ध गराएको हो ।

सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले नेपाल टेलिकम पाल्पाको सहयोगमा फोन गर्दा पैसा नलाग्ने सिम कार्ड गाउँपालिकाले उपलब्ध गराएका छ । 

फोन गर्दा पैसा नलाग्ने सिम पाएपछि यहाँका विद्यार्थीहरू उत्साहित भएका छन् ।

विद्यार्थीलाई सम्बन्धित शिक्षकहरूसँग प्रश्नोत्तर गर्न सहज हुने र शिक्षण सिकाई प्रभावकारी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी हुने गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो । 

गाउँपालिकाले १ हजार ७ सय ६५ विद्यार्थीलाई सिम वितरण गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै पालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो ।

इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आइरहँदा यसको समाधानका लागि निःशुल्क सिम कार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले यहाँका ७ वटा मावि र १ वटा आधारभूत विद्यालयका लागि निःशुल्क सिम कार्ड वितरण गरेको हो ।

सम्बन्धित