तपाईँ सुन्दै हुनुहुन्छः

झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने दुई जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका वडा नम्बर २ कै ५१ वर्षीय धुरुपप्रसाद पटेल रहेका छन् । 

भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुस ११ गते नेपाली नागरिकताको  प्रमाण पत्र लिएकी थिइन् । नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।  

भारतीय नागरिक सीताले झुटो विवरण पेस गरी नागरिकता लिएको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सितालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरबाट आज बिहान नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएर सिताको ब्याग खानतलासी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको नागरिकता प्राप्त नम्बर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको छ । 

उक्त नागरिकतामा धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख छ । 

प्रहरीले सीताबाट बरामद भएको नागरिकतबारे अनुसन्धान गर्दा झुटो विवरण पेस गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा बनेर सनाखत गरेका धुरुपलाइ पनि प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button