तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरूका लागि प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोभिड सङ्क्रमणबाट अनाथ हुन पुगेका बालबालिकाहरूलाई संरक्षण र पुनर्स्थापन गर्न सरकार र राष्ट्रिय बाल अधिकार परिषद्लाई निर्देशन दिएको छ ।

सिंहदरबारमा समितिको आज बसेको बैठकले सम्भावित तेस्रो लहरको कोरोना महामारीको प्रभावलाई न्यूनीकरण र रोकथामका लागि पूर्व तयारीसहित रणनीति बनाउन आवश्यक भौतिक संरचना एवं, उपकरण व्यवस्थापन, खोप लगायतका विषयको प्रबन्ध गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी बैठकले विभिन्न मुलुकहरूमा बालबालिकालाई समेत कोरोनाको खोप लगाई सुरक्षित बनाउने काम भइसकेको हुँदा नेपालमा पनि बालबालिकाहरूका लागि प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरूले बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सरकार र स्थानीय तहले समेत कोरोना रोकथामका लागि आवश्यक रणनीति र खोप उपलब्ध नगराएको भन्दै आगामी दिनमा यस्तो गल्ती दोहोर्‍याउन नहुने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button