तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक सिकाइका शिक्षक तथा विद्यार्थीलाई सिम कार्ड वितरण

स्याङ्जा । वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका वालिङका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम कार्ड वितरण गरिएको छ । 

नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी ७ हजार ५ सय जनालाई नेपाल टेलिकम तथा एनसेलको इन्टरनेट प्याकेज सहितको सिम कार्ड निःशुल्क उपलब्ध गराएको नगर शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।

कोभिडका कारण भौतिक रुपमा सहभागी भई शिक्षण सिकाई हुने अवस्था तत्कालका लागी नभएका कारण इन्टरनेट प्याकेज सहितको सिम कार्ड वितरण गरिएको शाखा प्रमुख सापकोटाले बताउनुभयो । 

नेपाल टेलिकम र एनसेलको सहयोगमा नगरभित्रका १४ वटा वडाका ७२ सामुदायिक विद्यालयहरूका ४५० जना शिक्षकसहित सात हजार ५०० जना विद्यार्थीलाई सिम कार्ड वितरण गरिएको हो । 

नगरपालिका भित्र ५६ वटा आधारभूत विद्यालय र १६ वटा माध्यमिक विद्यालय रहेका छन् ।

वितरित सिम कार्डमा नेपाल टेलिकमको सिममा इन्टरनेट प्याकेजका लागि ३ सय २१ रुपैयाँ र एनसेलको सिम कार्डमा ३ सय १० रुपैयाँले एक महिनासम्म इन्टरनेट चलाउन सकिनेछ भने त्यसपछि शिक्षक÷विद्यार्थी आफैले रिचार्ज गर्नुपर्ने छ । 

अनलाइन शिक्षण सिकाइका लागी नेपाल टेलिकम र एनसेलको सहयोगमा निःशुल्क सिम कार्डको व्यवस्था गरिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो । वैकल्पिक कक्षा सञ्चालनका क्रममा आउन सक्ने सम्भावित अप्ठयाराहरुलाई सम्बोधन गर्दै विभिन्न विकल्पहरूको खोजी गर्ने क्रममा यो विधि अपनाइएको प्रमुख खाँणको भनाई थियो । 

शिक्षासँगै बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र यसले भोलिका दिनमा उपलब्धि देखिँदै जाने उहाँको भनाई थियो । 

नगरभित्रका १४ वटै वडाका ३१० वटा गाउँहरूमा इन्टरनेटको पहुँच विस्तार गर्नका लागि सेवा प्रदायकहरूसँग सम्झौता भई काम अगाडि बढिसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button