तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकियो

File Photo

स्याङ्जा । साउनको मध्यसम्म आइपुग्दा स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । 

कुल धान खेती हुने भू–भाग मध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो । 

यहाँको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झन्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । 

तल्लो भेगमा ढिला रोपाइँ गरिए पनि उत्पादनमा खासै फरक नपर्ने भएकाले मकै भएका खेतहरूमा केही ढिलाइ भएको हो । 

गत वर्ष ९८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष झन्डै शतप्रतिशत रोपाइँ हुने देखिएको हमालले बताउनुभयो । 

केन्द्रका प्रमुख हमालले भन्नुभयो, “यस वर्ष कोरोनाका कारण युवाहरू गाउँघर तिरै हुनु, विदेशबाट फर्किएकाहरू र पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढेको र पर्याप्त वर्षा भएकाले पनि रोपाइँ शतप्रतिशत हुने सम्भावना भएको हो ।”

यस पटक पर्याप्त वर्षात भएका कारण भदौ, असोज महिनासम्म मूल नसुक्ने भएकाले धान उत्पादन बढी हुने कृषि प्राविधिकहरू बताउँछन् । 

यो बर्ष बाँझो रहेका जमिनमा समेत कृषकहरूले रोपाइँ गरेका छन् । १८ हजार हेक्टरमा गत वर्ष ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस पटक भने झन्डै ६० हजार मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । 

सिँचाइका सुविधा नपुगेका खेतमा पनि यस पटक नियमित आएको वर्षाले किसानलाई सहज बनाएको कृषकहरूको भनाई छ । 

स्याङ्जाका आँधी खोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका लागि उर्वर क्षेत्र हुन । 

यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतली बजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङमा पनि धान खेती हुने गरेको छ । 

यहाँका कृषकहरूले रामधान, सावित्री, सुनौलो सुगन्ध लगायतका उन्नत जात तथा हाइब्रिड र केही स्थानीय जातका धान रोप्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button