तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा बजार अनुगमन, गुणस्तरहीन माछा मासु नष्ट गरियो

रुपन्देही । बुटवल उपमहानगरपालिकाको अगुवाइमा बिहीबार बजार अनुगमन गरिएको छ  । 

अनुगमनको क्रममा मापदण्ड नअपनाई सञ्चालन भइरहेको र गुणस्तरहीन सामान तथा सामान बेच्ने व्यवसायीलाई सजग बनाइएको  छ । 

रुपन्देही उद्योग सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही, रुपन्देही व्यापार सङ्घ, रुपन्देही मासु व्यवसायी सङ्घ, प्रहरी प्रशासनसहितको संयुक्त अनुगमन गरेको हो ।  

अनुगमन  समितिका संयोजक उपप्रमुख गुमादेबी आचार्यले धेरै पटक सुझाव दिँदा पनि अटेर गर्ने व्यवसायीहरूलाई कारबाही अघि बढ्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिका पशुपन्छी विकास शाखाका अधिकृत तथा पशु चिकित्सक झबिन्द्र बन्जाडेले अनुगमनको क्रममा ब्यवसायीहरुको पसलमा देखिएका कमीकमजोरी हटाउन एक हप्ता समय दिएर आवश्यक कारबाहीको दायरमा ल्याउने गरी काम अघि बढाएको जानकारी दिनुभयो । 

बजार अनुगमनका क्रममा विभिन्न  ६ वटा मासु पसलमा राखिएका अस्वस्थकर वस्तुहरू नष्ट गरिएको छ । 

अनुगमनका क्रममा आएको टोलीलाई व्यवसायीहरू भने छाला, हड्डी, फोहोर फ्याँक्ने स्थान अभाव रहेको गुनासो गरेका छन्। उनीहरूले सरकारलाई कर तिरे पनि ब्यवसायीहरुको हितमा कुनै काम नभएको बताएका छन् । ६ वर्षदेखि नगरपालिका भने टेन्डर हाल्ने र घर भाडा लिने तर अन्य कुनै सेवा सुविधा नदिएको उनीहरू बताउँछन् । 

बुटवलका मासु व्यवसायीलाई व्यवस्थित गर्न पशु सेवा विभागले वि.सं. २०५७ सालमा सुरु गरेको वधशालाको काम पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त सहयोगमा निर्माणाधीन अवस्थामा छ । 

हेपर इन्टरनेश्नलको प्राविधिक सहयोगमा भइरहेको वधशाला २२ करोडमा डिपिआर भएर काम जारी छ । वधशाला निर्माणको काम अघि बढेको लामो समय भए पनि त्यो कार्यान्वयन चरणमा जान सकेको भने छैन । 

हाल बुटवल उपनगरपालिकाभित्र ५ सय खसी बोका, ३ हजार कुखुराको मासु दैनिक बिक्री हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button