२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

राहत लिएर क्याप्टेन लामा तनहुँमा

अशोक विश्वकर्मा २०७८ साउन १४ गते १५:४६

तनहुँ । बाढी पहिरोको चपेटामा परेका तथा कोरोनाको सङ्क्रमणका कारण दैनिक ज्यालादारी गर्न नपाएर समस्यामा रहेका परिवारलाई कलाकार तथा क्याप्टेन विजय लामाले सहयोग गर्नुभएको छ  ।  

उहाँले बन्दीपुर गाउँपालिकाका–५ भुजेल गाउँ, व्यास नगरपालिका–११ का विभिन्न गाउँ र भिमाद नगरपालिका–२ रघु गाउँका विपन्न समुदायलाई उहाँले खाद्यान्न सहयोग गर्नुभएको हो ।

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन लामा आबद्ध न्यानोपन नेपालले दुई सय परिवारलाई सहयोग गरेको छ । चामल, नुन, तेल, मसला लगायतका दैनिक उपभोग्य सामाग्री प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर प्रदान गरिएको हो ।

क्याप्टेन लामाले विपत्तिमा परेको बेला पीडामा मलम लगाउन एक नेपालीले अर्को नेपालीलाई सघाउनुपर्ने बताउनुभयो ।

  

कोरोना र बाढी पहिरो प्रभावित परिवारलाई धैर्य भएर बस्न उहाँको सुझाव छ । “आत्तिएर केही पनि हुँदैन । सम्हालेर बलियो हुनुपर्छ हामी तपाईँको साथमा छौँ”, उहाँले भन्नुभयो । मानवीय सेवा नै ईश्वरीय सेवा भएको उहाँले जनाउनुभयो ।

खाद्यान्न लिएर लामासँगै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी पनि तनहुँ आउनुभएको थियो । उहाँले तनहुँवासीलाई सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

क्याप्टेन लामाले काठमाडौँसहित भक्तपुर, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, बारा, पर्सा लगायतका विभिन्न जिल्लाहरूमा पुगेर अति विपन्न परिवार तथा विपद्बाट प्रभावित सुत्केरी महिला, एकला महिलालाई पौष्टिक आहार, खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ  ।

सम्बन्धित