तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले पातारासीमा दर्जनौँ काठे पुल र घट्ट बगायो, एक जनाको मृत्यु

जुम्ला  । जुम्लाको पातारासी गाउँपालिकामा भारी वर्षाका कारण आएको बाढीले मानवीय तथा ठुलो भौतिक क्षति गरेको छ । 

मङ्गलवार राती भएको भारी वर्षाका कारण आएको बाढीले पातारासी क्षेत्रका दर्जनौँ काठे पुल तथा पानी घट्ट बगाएको छ भने मकै, आलु, सिमी, कोदो चिनो लगायतको अन्नबाली रोपिएका खेतबारी बगरमा परिणत भएका छन् । 

पिठो पिस्न घट्ट गएकी पातारासी– ३ छुम गाउँकी ३५ वर्षीय शर्मिला बुढालाई घट्टसहित बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक बुढाको बुधवार प्रहरीले मुचुल्का गरेर आफन्तले दाहसंस्कार समेत गरिसकेका छन् । 

पातारासीका ७ वटै वडामा बाढीले क्षति पुर्‍याएको छ । तर अन्य क्षेत्रभन्दा वडा नं. ३ मा बढी क्षति भएको स्थानीय श्रीराम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “आवतजावत गर्न पुल पनि छैन । बाली सबै बालुवामा परिणत भएको छ । घर नै बगाउने चिन्ताले राती जाग्राम बस्छौ ।” 

पातारासीा ७ वटा पानी घट्ट समेत बाढीले बगाएको पातारासी गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख जन महताराले बताउनुभयो । 

उहाँका अनुसार लुम तथा छुम गाउँ जोड्ने करिब एक दर्जन बढी काठे पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । करिब २५ वटा पशुचौपाय समेत बाढीले बगाएको विपद् व्यवस्थापन शाखा प्रमुख महताराले जानकारी दिनुभयो । 

त्यस्तै पातारासी गाउँपालिका ४ लुममा पनि ५/६  काठे पुल बगाउनुका साथै गोडमेल गरेर पाक्न थालेका अन्नबालीहरू पूर्ण क्षति पुगेको छ ।

वर्षासँगै बाढी आउने क्रम जारी रहेकोले क्षतिको विवरण यकिन विवरण भने आउन बाँकी रहेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । 

उहाँका अनुसार बाढीमा परि मृत्यु हुनेलाई गाउँपालिकाले तत्काल २५ हजार राहत स्वरूप उपलब्ध गराउने छ । 

उहाँले काठे पुल बगाउँदा आवतजावत बन्द भएकोले तत्काल आवतजावत सहज गर्न मर्मत तथा पुनः निर्माणको कामलाई तत्काल अघि बढाइने बताउनुभयो । 

अध्यक्ष बोहोराले भन्नुभयो, “पालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो आएको छ । घरभित्रै बाढी पसेर केही परिवार विस्थापित पनि भएका छन्, थुप्रै बाटाघाटा पनि भत्केका छन् । तत्काल कार्यपालिका बैठक बसेर राहत उद्धार तथा मर्मत सम्भारलाई अघि बढाउँछौ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button