तपाईँ सुन्दै हुनुहुन्छः

चोरीका मोबाइल र लागु औषधसहित भारतीय नागरिक पक्राउ

झापा । झापामा मोबाइल चोरी र लागु औषध ओसारपसारको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।


सशस्त्र प्रहरी र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले भारत किशनगञ्ज जिल्ला गलगलिया (भात गाउँ) हाल भद्रपुर– ६ मा डेरा गरी बस्ने २१ वर्षीय अजय पासवानलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका अनुसार पासवानले भद्रपुर–५ स्थित सूर्य प्लाई उद्योगमा कामदारको मोबाइल फोन र नगद चोरी गरेका थिए । सामान चोरेर भारततर्फ भाग्दै गरेको अवस्थामा आज बिहान मेची पुल उत्तरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले उनको साथबाट लागु औषध ब्राउन सुगर २१० मिलिग्राम र १० ग्राम गाँजा समेत बरामद गरेको छ । साथै दुई थान मोबाइल फोन, १२५० भारतीय रुपैयाँ, १५१० नेपाली रुपैयाँ, दुई थान भारतीय आधार कार्ड, एउटा भारतीय मतदाता परिचयपत्र र दुई वटा पर्स फेला परेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका जिल्ला प्रहरी कार्यालय, झापामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button