तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका १३ जना भूमिहीन भूकम्प पीडितले पाए लालपुर्जा

तनहुँ । भूकम्पबाट घर बास गुमाएका तनहुँका १३ जना भूमिहीन भूकम्प पीडितले आवास पुन निर्माणका लागि जग्गासहित लालपुर्जा प्राप्त गरेका छन् । 

भूकम्पसहित प्राकृतिक विपत्तिबाट जोखिममा रहेका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान उपलब्ध गराउँदै आएको छ ।

सुरक्षित स्थानमा जग्गा खरिद गर्न जनही २ लाख रुपैयाँ प्राप्त गरेका उनीहरूको हातमा जग्गासहित हातमा लालपुर्जा छ । 
लालपुर्जा हातमा परेपछि उनीहरू खुसीले दङ्ग छन् । आफ्नो नाममा लालपुर्जा लिने सपना पुरा भएकोमा खुसी लागेको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी आइतमाया भुजेल बताउनुभयो ।

लालपुर्जा खरिद गर्न रकम पाउने प्रावधान अनुसार जग्गा खरिद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । 

घर बनाउन र जग्गा खरिद गर्न पाँच लाख रुपैयाँ पाउने व्यवस्था छ । 

तिवारीका अनुसार लालपुर्जा प्राप्त भइसकेपछि आवास अनुदानको लागि ३ लाख रुपैयाँ पाउनेछन् । प्राधिकरणबाट जग्गा खरिदको लागि थप रकम २ लाख रुपैयाँ लिएका लाभग्राहीले १० वर्षसम्म जमिन तथा घरलाई बिक्री गर्न नपाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button