तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ७२ हजार ९ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाए

बीरगंज  । पर्सा जिल्लामा हालसम्म ७२ हजार ९ सय ६० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । 

भारतबाट ल्याइएको कोभिशिल्ड, चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सनको गरि आजसम्म जम्मा ७२ हजार ९ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । 

कोभिबिल्ड र भेरोसेलका दुवै डोज लगाउनेको सङ्ख्या १६ हजार ५ सय ९० जना रहेको छ । उनीहरूको खोप पुरा भएको छ । 

त्यस्तै, जोन्सन एण्ड जोन्सनको आजसम्म २५ हजारभन्दा बढीले खोप लिएको र यो खोपको मात्रा एक डोजको भएको हुँदा पर्सामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४१ हजार ५ सय ९० भन्दा बढी भएको स्वास्थ्य कार्यालय बीरगंजका निमित्त प्रमुख नबल किशोर साहले जानकारी दिनुभयो । पर्सा जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । 

सुरुमा कोभिशिल्ड खोप लगाइएको थियो । पहिलो डोज २७ हजार १ सय ३० जनाले लगाएकोमा दोस्रो डोज ९ हजार २ सय ६४ जनाले मात्रै लगाएका छन् । 

कोभिडसिल्ड खोप लगाएका अन्यलाई पुनः एक डोज खोप लगाउन बाँकी रहेको साहले बताउनुभयो । 

त्यसैगरी  भेरोसेल १७ हजार ८ सय ३० डोज खोप पर्सामा आएको र सो मध्ये १० हजार ८ सय ३० जनाले पहिलो खोप लगाएका छन् भने ६ हजार ३ सय ८० जनाले दोस्रो खोप लगाएका छन् । 

भेरोसेल खोपको पनि दोस्रो डोज लगाउन झन्डै ४ हजार बाँकी रहेको तथ्याङ्कले देखाएको छ । 

त्यस्तै, पर्सामा अमेरिकन कम्पनी जोन्सन एण्ड जोन्सनको ३६ हजार ५ सय डोज खोप पर्सामा आएको र सो मध्ये २५ हजार बढीले खोप लगाएको रेकर्ड स्वास्थ्य कार्यालयमा आइपुगेको कार्यालयका कर्मचारी पशुपति यादवले जानकारी दिनुभयो । 

जनसङ्ख्याको अनुपातमा खोप लगाउने उमेर समूह मध्ये १८ वर्षभन्दा बढी उमेर समूहकालाई गणना गर्दा पर्सा जिल्लामा झन्डै २० प्रतिशतले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पर्सामा खोप अभियान निरन्तर जारी रहने र जोन्सनको ५० देखि ५४ वर्ष उमेर समूहको खोप सम्पन्न भएसँगै अब सोभन्दा कम उमेर समूहका लागि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button