तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्री श्रेष्ठलाई गृह जिल्लामा स्वागत तथा सम्मान

स्याङ्जा । गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । 

मन्त्री श्रेष्ठलाई काँग्रेस जिल्ला कार्यसमिति, स्याङ्जा उद्योग वाणिज्य सङ्घ, भीरकोट नगरपालिका, वालिङ नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेको हो ।

वालिङमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले लोकतन्त्रको रक्षार्थ नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो । 

काँग्रेसको नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले कोरोना नियन्त्रण तथा रोकथाम सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

सीमित स्रोत र साधनकाबीच धेरै योजनाहरू कार्यान्वयन गर्नुपर्ने अवस्थामा चुनौतीहरू र अवसर दुवै रहेकाले प्राथमिकताका आधारमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख दिलीप प्रताप खाँणले नवनियुक्त मन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो । 

उहाँले तिनै तहका सङ्घ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य गर्दै विकास निर्माण तथा कार्यान्वयनका पक्षलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button