तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस भएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो ।

यस अगाडि बैठकको विशेष समयमा बोल्दै सांसदहरू उदया शर्मा पौडेल, खिमलाल देवकोटा, चक्र स्नेही लगायतले सङ्घीय प्रणालीलाई बलियो बनाउन प्रदेश र स्थानीय तहका काम–कारबाही प्रभावकारी बनाउनुपर्ने जोड दिनुभयो ।

सांसद प्रकाश पन्तले संवैधानिक अङ्ग तथा सरकारी निकायहरूमा पदाधिकारी नियुक्त गर्दा समावेशीकरणको सिद्धान्त पालना गर्न तथा मन्त्रिपरिषद्लाई समावेशी बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । 

यस्तै बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमीकी मनकला खत्रीको सामूहिक बलात्कार र हत्याका दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । 

यस्तै सांसद विमला राई पौडेलले घरेलु कामदार तथा अनौपचारिक क्षेत्रका कामदारको पञ्जीकरण गरी राज्यले परिचय पत्र दिने व्यवस्था माग गर्नुभयो ।   

राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button