तपाईँ सुन्दै हुनुहुन्छः

दूधको उत्पादन बढाउन उन्नत जातका भैँसी वितरण

बैतडी । दुग्ध उत्पादन, भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत बैतडीको पाटन नगरपालिका वडा नं.२ र ८ मा उन्नत जातका भैँसी वितरण गरिएको छ ।

जिल्लाबाट स्थानीय जातका भैँसीहरू लोप हुँदै गएपछि भैँसीको संरक्षण र संवर्द्धन गर्न मुर्रा जातका भैँसीका पाडी वितरण गरिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश र स्थानीय तहको साझेदारीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा सञ्चालित भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत वडा नं. २ र ८ मा २५ वटा पाडी वितरण गरिएको पशु विकास अधिकृत गुमानी दत्त पन्तले बताउनुभयो  ।

सङ्घीय सरकारको रु. २१ लाख ८० हजार, प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु.२२ लाख र पाटन नगरपालिकाको रु.२१ लाख ५० हजार गरी कुल ६५ लाख ३० हजारको लागतमा उन्नत जातका भैँसी प्रवर्धन गर्न आत्म विकास कृषि सहकारी संस्थासँग सम्झौता भई भैँसी खरिद गरिएको संस्थाका अध्यक्ष जगदीश विष्टले बताउनुभयो ।

स्थानीय जातको भैँसीबाट दुग्ध उत्पादन कम हुने र छोटो समयमै दूध दिन छाड्ने भएकाले उन्नत मुर्रा तथा जाफरवादी जातका भैँसीका पाडीको कृषकहरूले माग गरेका छन् ।

आफूले पाएको मुर्रा जातका पाडीले राम्रोसँग घाँस तथा कुँडो खाइरहेको र स्थानीय वातावरण मन पराएको वडा नं. २ का कृषक दुर्गा दत्त पाण्डेयले बताउनुभयो ।

मध्य पहाडी लोक मार्ग आसपासका १० वटै नयाँ सहरमा दुग्ध उत्पादन बढाउन भैँसी प्रवर्धन कार्यक्रम लागु गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button