तपाईँ सुन्दै हुनुहुन्छः

ठेक्का सम्झौता बिना नै अवैध रुपमा बालुवा उत्खनन

बेनी । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट ठेक्का सम्झौता बिना नै बालुवा उत्खनन र चोरी निकासी भएको छ ।

बेनी–१ को आनन्द बगर, सारेमारे र ढोडेनी खोलामा एक्स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन गरी चोरी निकासी भएको हो । 

अवैध रुपमा नदी दोहनका कारण तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । 

सदरमुकाम नजिकैको बगरमा भएको अवैध दोहन रोक्न नगरपालिका, प्रहरी र प्रशासनले बेवास्ता गरेको जनगुनासो समेत आउन थालेको छ ।

बर्षायामको असारदेखि असोज महिनासम्म नदी उत्खनन गर्न नपाउने सरकारी नियम छ । बेनी नगरपालिकाले गत असार १ गते नै सूचना जारी गरेर बगर उत्खनन बन्द गरेको जनाएको थियो । 

नगरपालिका र सरकारको निर्णय विपरीत केही व्यक्तिहरूले खोलामा डोजर हालेर बालुवा उत्खनन गरिरहेका बेनी–१ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।  

“सम्झौता बिना नै मापदण्ड र नियम विपरीत बालुवा निकालेको गुनासो आएपछि प्रहरीलाई अनुगमन गर्न भनेको छु,” उहाँले भन्नुभयो “प्रहरी र हामी जाँदा डोजर लुकाउने, अघिपछि बालुवा निकाल्ने गरेका छन् । हामीले जति भने पनि अटेरी गरेका छन् ।” 

दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयले बताएका छन् ।

त्यस्तै आनन्द बगरमा पनि दुई वटा डोजर र एक वटा ब्याकुहोलोडर प्रयोग गरेर दिनहुँ  कालीगण्डकीबाट बालुवा निकालिएको छ । 

ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानुनी व्यवस्था छ । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताउनुभयो  । उहाँले सुरक्षा निकायले नियन्त्रणमा लिएर बुझाएमा कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सुरक्षा निकायसँग सल्लाह गरेर अनुगमन गर्ने र अवैध रुपमा उत्खनन गरेको पुष्टि भएमा जफत गरी नगरपालिकालाई बुझाउने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button