तपाईँ सुन्दै हुनुहुन्छः

जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

सिमकोट। गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ ।

कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो ।

उक्त चामल ढुवानी गर्न रु एक लाख ६८ हजार ५०० खर्च भएको उहाँको भनाइ छ । उहाँका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्छ ।

कम्पनीले खाद्य वितरण केन्द्र, डिपो र जिल्ला शाखामार्फत उक्त चामल वितरण गर्दै आएको छ । सिमकोट शाखाबाट मात्रै दुवै संस्कारका लागि ८९ क्विन्टल ४० किलो चामल वितरण गरिएको कम्पनीले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ भदौ २३ गते संसद्मा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न प्रतिव्यक्ति २० किलोका दरले चामल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button