२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाको नयाँ भवन बुद्ध गुम्बा शैलीमा निर्माण हुने

शशि पन्थी २०७८ साउन ११ गते १९:५३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरपालिकाको नयाँ भवन बनाउन सोमबार सम्झौता गरेको छ । नगरपालिकाको नयाँ प्रशासनिक भवन बुद्धत्व भल्कने बुद्ध गुम्बा शैलीमा निर्माण हुने भएको छ ।


५ तल्ले डिजाइन गरिएको भवनमा भूमिगत (अण्डरग्राउण्ड) पार्किङको सुविधा समेत हुनेछ । श्री स्काइ राम सागर जेभीले उक्त भवन ४ अक्टोबर २०२३ मा सम्पन्न हुने गरी १८ करोड ३७ लाख ४९ हजारमा ठेक्का सम्झौता गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले समयमा काम सकाउन पनि निर्माण कम्पनीका प्रतिनिधिलाई सचेत गराउनुभयो । 


नगरप्रमुख अधिकारीले यस अघि पनि बुद्धको नगरी सिद्धार्थनगर बनाउन पर्यटकीय गेट अन्तिम चरणमा पुगेको बताउनुभयो । नगरका ६ ल्यान्ड सडकमा बुद्धका मूर्ति राखेर पनि नगरको सौन्दर्य बुद्धमय बनाउन लागिएको उनले चर्चा गर्नुभयो ।

निर्माण कम्पनी र नगरपालिकाका प्रतिनिधिबिच सोमबार सम्झौता पत्र एक आदानप्रदान गरिएको थियो । सम्झौतामा निर्माण कम्पनीका प्रतिनिधि किशोर न्यौपाने र नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले हस्ताक्षर गर्नुभएको हो ।


सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित हाटबजार नजिकै भवन निर्माण हुन लागेको हो । भवन बुद्ध धर्ममा आधारित विहार वास्तुकलाको प्रयोग गरी निर्माण हुनेछ । बुद्धको नगरी सिद्धार्थनगरलाई चिनाउन र पर्यटकको नजर पनि जाने गरी भवन निर्माण हुने इन्जिनियर यमलाल पाण्डेले बताउनुभयो । 


भवन परिसरमा ३२ वटा कार र ४० वटा मोटरसाइकल अटाउने स्थान रहेको वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित