तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व गृह राज्यमन्त्री बास्कोटा सम्मानित

काठमाडौँ । महर्षि फाउन्डेसनले वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका नेपाल सहित विश्वका छ देशका नेतालाई सम्मान गरेको छ ।


मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्स्टिच्युट परिसरमा हिजो आयोजित कार्यक्रममा पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटालाई महर्षि नेतृत्वदायी पदक प्रदान गर्नुभयो ।


कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्ष रूपमा आयोजना गरिएको थियो ।


सम्मानित बास्कोटाले दुई दशकअघिदेखि नेपाल महर्षि वैदिक फाउन्डेसनका माध्यममार्फत योग, ध्यान र यज्ञका माध्यमबाट देश एवं विश्व शान्तिका लागि सहयोग गर्दै आउनुभएको थियो । 

हाल देशभर रहेका करिब १०० गुरुकुलमा योग, ध्यान एवं यज्ञका माध्यमबाट विश्व शान्तिका लागि योगदान भइरहेको छ ।


कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले वैदिक नेपाल निर्माणका लागि फाउन्डेसनका माध्यमबाट देशव्यापी अभियान सञ्चालन गरिएकामा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रममा विश्व शान्ति राष्ट्रका महाराजा राम (डा टोनी नाडर) ले जीवनको पूर्णताका भनेको नै वैदिक ज्ञान भएकाले वैदिक ज्ञान दिन विश्वभर अभियान सञ्चालन गरिएको बताउनुभयो । 


बास्कोटासँगै भारतका पूर्व मन्त्री रमेश पोखर्याल ‘निश्शङ्क’, इण्डोनेशियाको बालीका पूर्व नगरप्रमुख मादे पङ्कु पस्तिका लगायत विश्वका छ नेतालाई आआफ्ना देशमा वैदिक ज्ञानको प्रचारप्रसार गरेकामा सम्मान गरिएको थियो । 


कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल तामाङ लगायतले वैदिक नेपाल निर्माण अभियानमा स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो । 

चम्पादेवी मन्दिरमुनिको बोसन सामुदायिक वनको काखमा २७.५ रोपनी जग्गामा ब्रह्मानन्द सरस्वती ग्राम निर्माण गरिएको छ । 


योग, ध्यान र यज्ञका माध्यमबाट व्यक्तिलाई शान्त बनाउँदै मुलुकको शान्तिका लागि योगदान गर्न सकिने जनाइएको छ । ऋग्वेदको १० औँ मण्डलबाट लिइएको भावातीत ध्यान यहाँबाट सिकाइन्छ । 


ग्राममा ध्यान शिक्षकको तालिमसमेत सञ्चालन गरिने जनाइएको छ । गुरु पूर्णिमाका अवसरमा शनिवारदेखि नेपाल र भारतका गरी २६ ध्यान शिक्षक तालिममा सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button