तपाईँ सुन्दै हुनुहुन्छः

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद् निलम्बन, प्रधानमन्त्री बर्खास्त

(Photo by Adel Ezzine/Xinhua)

ट्युनिस ।  ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद् निलम्बन गर्नुभएको छ र प्रधानमन्त्रीलाई पनि बर्खास्त गर्नुभएको बताइएको छ । 

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद् पनि निलम्बन गर्नुभएको बताइएको छ ।

आइतबार राति उहाँले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गर्नुभएको थियो ।  राष्ट्रपति काइस सेइदले आइतबार राति चाल्नुभएको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिनुभएको छ ।

त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उहाँ आफैले गर्नुभएको छ । उहाँले अकस्मात् गर्नुभएको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।

त्यसैगरी यहाँको संसद् पनि उहाँले निलम्बन गरेर सबै सांसदहरूको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत जानकारी गराउनुभएको छ ।

आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहत र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरूले वर्तमान सरकारलाई हटाउन र संसद् पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button