तपाईँ सुन्दै हुनुहुन्छः

बर्सातका कारण नारायणगढ–बुटवल सडक विस्तार सुस्त

नवलपुर।राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन । कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन सुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बर्सातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिनुभयो । “नारायणगढबाट पाँच किलोमिटरदेखि १२ किलोमिटरसम्ममा माइनर ब्रिज निर्माणको काम भइरहेको छ”, अचार्यले भन्नुभयो, “यहाँ सात वटा माइनर ब्रिज निर्माणका क्रममा रहेकाले राजमार्गमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिरहेका छौँ ।” सात वटा साना पक्की पुलमध्ये तीन स्थानको पुलको ढलान सकिएको आचार्यले जानकारी दिनुभयो ।

“ढलान सकिएका पुलको साइडको वाल र रेलिङ बनाउने काम बाँकी छ, त्यो निर्माण भएपछि पुलबाटै सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “त्यस्तै दुई वटा पुलको सुपर स्ट्रक्चर (ढलान गर्नु पूर्व) को काम भइरहेको छ, भने अन्य दुई वटामा पनि तीव्र रूपमा काम हुँदै छ ।” अहिले बर्खाको समय भएकाले कामदार थपेर कामको गति बढाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । “बर्खामा पुलको कामबाहेक अन्य ठाउँको काम गर्न सम्भव छैन, अन्य काम गर्नै नमिल्ने भएपछि मजदुर बढाएर मात्रै काम चाँडो हुँदैन”, आचार्यले भन्नुभयो ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ प्रमुख रमेशकुमार दिष्टीले दिनहुँजस्तो पानी परिरहेकाले पुल निर्माणबाहेक अन्य काम गर्न नसकिएको बताउनुभयो । “मनसुनका कारण आवश्यकताअनुसार सडक विस्तारमा मजदुर परिचालन गर्न सकिएको छैन”, दिष्टीले भन्नुभयो, “दैनिक जसो पानी परिरहेको कारण मजदुरले पनि काम गर्न नपाउने र ठेकेदारले पनि काम दिन नसक्ने अवस्था छ ।” पानी पर्न रोकिने बित्तिकै सडक विस्तारका लागि रुख काट्न पनि जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो ।

“आयोजना विस्तारका लागि कटान हुनुपर्नेमध्ये ९० प्रतिशत रुख काटेर सकिएको छ”, दिष्टीले भन्नुभयो, “दाउन्ने क्षेत्र र दुम्किबास क्षेत्रमा केही रुख काट्न बाँकी रहेका छन् तर पानी परिरहेको अवस्थामा रुख काट्न नमिल्ने भएर त्यो काम त्यसै रोकिएको हो ।” आयोजनाअन्तर्गत झन्डै ११ हजार रुख काटिने भन्दै दिष्टीले रुख काटेर सकिए लगत्तै विद्युत्को पोल सार्ने काम पनि सुरु गरिने बताउनुभयो । “बिजुलीको पोल हटाउन विद्युत् प्राधिकरण, ठेकेदार र हामी सबै तयार छौँ”, उहाँले भन्नुभयो, “पानी रोकिएपछि सडक विस्तारको काम द्रुत गतिमा हुने हामीले अपेक्षा गरेका छौँ ।”

सडक विस्तारको कामको प्रगति आठ प्रतिशत भएको भन्दै दिष्टीले बर्खापछि कामले तीव्रता पाउने बताउनुभयो । पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड विस्तारको कामलाई गैँडाकोट दाउन्ने (६५ किमी) सडकलाई ‘खण्ड १’ तथा दाउन्ने बुटवल (४९ किमी) सडकलाई ‘खण्ड २’ मा विभाजन गरेर निर्माणको काम भइरहेको छ । ग्लोबल टेन्डरमार्फत रु १६ अर्ब ९९ करोड ५२ लाखमा दुवै खण्डको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले पाएर निर्माणको काम अगाडि बढाएको हो ।

चार लेनमा विस्तार हुने सो सडकको शहरी क्षेत्रमा छ÷छ मिटरका अतिरिक्त सर्भिस लेन हुनेछ भने बिचमा हरियालीसहितको डिभाइडर रहने जनाइएको छ । नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देही गरी तीन जिल्ला छुने यस सडकमा साना ठुला गरी २१ वटा पक्की पुल निर्माण हुनेछन् भने जङ्गलमा चार वटा वन्यजन्तुमैत्री पुल निर्माण गरिनेछ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएको सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button