तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १ अर्ब १३ करोड बजेट खर्च हुन सकेन

जुम्ला । जुम्लामा गएको आर्थिक वर्षमा १ अर्ब बढी बजेट खर्च हुन सकेर फिर्ता भएको छ । 


एक नगरपालिकासहित ७ वटा गाउँपालिकाले खर्च गर्न नसकेर १ अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फिर्ता भएको हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७–७८ मा पुँजीगत तर्फ विनियोजित कुल २ अर्ब ३१ करोड ३२ लाख ६० हजार मध्ये असार मसान्तसम्म १ अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमलव ८६ प्रतिशत रकम खर्च भएको छ । पुँजीगत तर्फको कुल विनियोजित बजेट मध्ये ८३ करोड ५९ लाख ३० हजार अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन सकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईले बताउनुभयो । 

उहाँले भन्नुभयो,“विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो । महामारीका बिच पनि बजेट खर्च राम्रै हो । तर, विकास बजेट खर्च हुन नसकेर फिर्ता हुनु दुखद पक्ष हो ।”


तथ्याङ्क अनुसार असार महिनामा मात्रै ६६ करोड ८६ लाख ५२ हजार ६ सय रुपैयाँ पुँजीगत तर्फ खर्च भएको छ । असारमै बजेट खर्चको दर हेर्दा असारे विकासको लहर अन्त्य कुरामै सीमित भएको स्पष्ट छ । 


त्यस्तै, चालुतर्फ विनियोजित ५ अर्ब ३० करोड ८ लाख ४५ हजार मध्ये असारसम्म ४ अर्ब ७३ करोड ८४ लाख ९ हजार रुपैयाँ अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको ६ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु तर्फको ६५ करोड ६१ लाख  ४ हजार रुपैयाँ असार महिनामा मात्रै खर्च भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button