तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बेमौसमी आलु खेती सुरु

पाल्पा । पाल्पामा बेमौसमी आलु खेती सुरुआत गरिएको छ । 

कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । 

न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरूप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिनभयो । 

उहाँका अनुसार हिउँदमा उम्रेको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातको समयमा रोपिने बताउनुभयो । 

जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । 

जिल्लाको रैनादेवी छहरामा भने गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न बेमौसमी आलु खेती थालिएको छ । 

निस्दीमा मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा  खेती थालिएको हो । 

स्थानीय ३० कृषकले ३० रोपनी जग्गामा एक हजार ६०० केजी आलुको बीउ रोपेको संस्थाका व्यवस्थापक हेमबहादुर खाम्चाले बताउनुभयो । 

उहाँका अनुसार कृषि ज्ञान केन्द्र पाल्पाको रु एक लाख तथा सहकारी संस्थाको रु एक लाख गरी रु दुई लाखको लगानीमा खेती सुरु गरिएको हो । 

मित्यालको झ्याल्टुङ्, रुप्सेभन्ज्याङ, काफल, भोर्मा र खोप्लाक क्षेत्रमा कृषकले आलु खेती गरेको निस्दी कृषि शाखा संयोजक खिमराज कोइरालाको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button