तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा सोमबारदेखि भेरोसेल खोप लगाइँदै

सुनसरी  । सुनसरीमा सोमबारदेखि ३ दिन ५५ वर्षदेखि माथिका सबैलाई पहिलो मात्रा भेरोसेल खोप ३० हजार जनालाई लगाइँदै छ ।

साउन ११, १२ र १३ गते ३ दिन सुनसरी जिल्लाको ६९ वटा खोप केन्द्रहरूबाट कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय सुनसरीले तोकेको भन्दा केही तलमाथि खोप केन्द्रहरू हुन सक्ने र स्थानीय निकायहरूले आफैले पनि खोप केन्द्र निर्धारण गर्ने भएकोले तलमाथि हुन सक्ने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सुनसरी जिल्ला भित्रका विश्व विद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई सम्बन्धित संस्थाले जारी गरेको परिचय पत्रको आधारमा पनि खोप दिइनेछ ।

यसै गरी सुनसरी जिल्ला भित्रका सार्वजनिक यातायातमा कार्यरत चालक र सह–चालकहरूलाई सम्बन्धित कम्पनी वा यातायात व्यवसायी सङ्घको परिचय पत्रको आधारमा खोप लगाउन पाउनेछन् । जिल्लामा खोप केन्द्र र खोप सेन्टर समेत निर्धारण गरेको  छ । 

धरानमा ७ स्थानमा १५ वटा केन्द्र, इटहरीमा ५ स्थानमा ११ वटा केन्द्र, बराहक्षेत्रमा ६  स्थानमा १२ वटा केन्द्र, इनरुवामा ७ स्थानमा १५ वटा केन्द्र, रामधुनीमा ५ स्थानमा १० वटा केन्द्र, दुहवीमा ८ स्थानमा १६ वटा केन्द्र, कोशीमा ६ स्थानमा १२ वटा केन्द्र,गढीमा ४ स्थानमा ८ वटा केन्द्र,  भोक्राहा नरसिंहमा ४ स्थानमा ८ वटा केन्द्र, देवनागञ्ज र हरिनगरमा ५/५ स्थानमा १०÷१० वटा केन्द्र गरी कुल ६९ स्थानमा १४१ वटा खोप केन्द्र र खोप सेन्टर निर्धारण गरेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य प्रमुख सागर प्रसाईले खोप लगाउन परिचय पत्रसहित उपस्थित हुनुपर्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button