तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मापदण्ड पालना गर्न छोडेपछि तेस्रो भेरिएन्टको चेतावनी

चौतारा । स्वास्थ्य मापदण्ड पालनाप्रति आम नागरिकको बेवास्ता बढेसँगै  जिल्लामा कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर सुरु हुनेतर्फ विज्ञ तथा सरोकारवालाले सचेत गराएका छन् ।

निषेधाज्ञा हटाएपछि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनाप्रति नागरिकले बेवास्ता गर्न थालेको निष्कर्ष निकाल्दै विज्ञ तथा सरोकारवालाहरूले सचेत रहन नागरिकलाई  आग्रह गरेका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएपनि पूर्ण रूपले भाइरस  नियन्त्रणमा आइनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।लकडाउन हटाएसँगै नागरिकहरुले मास्क, स्यानिटाइजरको प्रयोग गर्न छोडेकोप्रति चिन्तित हुँदै अधिकृत चापागाईँले भन्नुभयो, ‘नागरिकहरू यसरी निर्धक्क हिँडिरहेका छन् कि मानौँ कोरोना भाइरस पूर्ण नियन्त्रणमा आइसकेको छ ।’  ‘नागरिकहरूको यही लापरबाही नै कोरोना भाइरस संक्रमण तेस्रो लहरको कारण बन्ने छ ’ – अधिकृत चापागाईँले थप्नु भयो ।

हुन पनि अहिले सिन्धुपाल्चोकमा अधिकांश नागरिक मास्क विना घुमफिर गर्न थालेका छन् । किनमेलमा जाँदा होस् या अरू कुनै सभा समारोहमा सहभागी हुँदा होस, नागरीहरूले न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरेको पनि देखिँदैन ।स्वास्थ्य मापदण्ड र सामाजिक दुरीलाई बेवास्ता गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले दैनिक माइकिङ अभियानलाई तीव्रता दिएको छ ।

कोरोना भाइरसबाट बच्न र नियन्त्रण गर्न  सन्देशमूलक माइकिङ गरेपनि नागरिकहरू सचेत नभएको एसपी राजन अधिकारीले बताउनु भयो ।अधिकांश मान्छेहरू अहिले मास्क विना बजारमा देखिनु राम्रो सङ्केत नभएको जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्य बताउँछु हुन्छ । कोरोना भाइरसको तेस्रो लहर आउनेप्रति स्वास्थ्य मन्त्रालयले पनि सजग गराइ सकेको हुँदा आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न र सामाजिक दुरी कायम गर्न उहाँले अनुरोध गर्नु भयो ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भए यता जिल्लामा ४ हजार १ सय ५६  जना संक्रमित भएकोमा ३ हजार ९ सय ८४ जना मुक्त भइसकेको र १४१ जना अझै सक्रिय संक्रमित रहेको छ । यस मध्य ३१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button