२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

रेडियो नेपाल २०७८ साउन १० गते ७:३६

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरलैण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयूनिसिया एक/एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये आज सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित हुनुभएको छ । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गर्नुभयो । उहाँले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । यसअघि उहाँको नाममा ६१४ दशमलव ५ अङ्कको कीर्तिमान थियो ।

यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुभयो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

सम्बन्धित