तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिहरुको भ्रमण खर्च कोरोना पिडित परिवारलाई

तनहुँ ।  जनप्रतिनिधिहरुका लागि अध्ययन तथा अवलोकन गर्न भन्दै वनियोजन भएको रकम तनहुँका एक वडाले कोरोनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । 

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा८ ले  भ्रमणका लागि छुट्याएको १ लाख ५० हजार र अन्य शिर्षकमा खर्च हुन नसकेको ५० हजार गरी दुई  लाख बजेट कोरोनाका कारण प्रभावित भएका परिवारलाई दिने निर्णय गरेको हो । 

वडा ८का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले उक्त रकम वडामा विश्वब्यापी महामारीबाट परिवारका सदस्य गुमाएका परिवालाई प्रति परिवार २० हजारका दरले राहत स्वरुप सहयोग गरिने निर्णय भएको जानकारी दिनुभयो । 

वडा अध्यक्ष रेग्मीका अनुसार उक्त रकम सम्वन्धित परिवारलाई  बालबच्चाका शैक्षिक क्षेत्रमा लगानी गर्न आग्रह गरिएको छ । 

“कोरोना कहरले जनतालाई आक्रन्त बनाइरहेको बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भएपनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ”, उहाँले भन्नुभयो । 

कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधीले जनताको मन जित्न सफल भएका छन् । 

दोस्रो लहरले आक्रन्त बनाएको बेला यहाँका जनप्रतिनिधी कोरोना संक्रमितको आत्माबल बढाउन घर–घरै पुग्ने गरेका छन् ।

जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य सामाग्री र पौष्टिक आहार बाँड्ने गरेका छन् । वडा ८ मा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button