तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दे गाउँपालिकाको बजेट पारित

तनहुँ । म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको २०७८/०७९ का लागि ल्याइएको बजेट पारित गरेको छ । 

शुक्रवार सम्पन्न गाउँ सभाले ६६ करोड ९२ लाख ६१ हजार रुपैयाँको बजेट पारित गरेको हो । 

गाउँपालिकाले सबैभन्दा बढी सामाजिक विकास शीर्षकमा ४४.५२ प्रतिशत बजेट छुट्टाएको छ । 

यो शीर्षकमा २७ करोड ७८ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३६.४२ प्रतिशत बजेट पूर्वाधार विकासलाई विनियोजन भएको छ । २२ करोड ७३ लाख ५४ हजार रुपैयाँ पूर्वाधार विकासमा विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 

आर्थिक विकासमा ३ करोड १६ लाख, वातावरण र विपद् व्यवस्थापनमा ५० लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा ८ करोड २४ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकाले ७ वटै वडा कार्यालयलाई पुँजीगततर्फ ७५ र चालुतर्फ २५ प्रतिशत गरी ४ करोड ५० लाख रुपैयाँका दरले विनियोजन गरेको अधिकारीले बताउनुभयो । 

आम्दानीतर्फ सङ्घीय सरकारको समानीकरण अनुदान १० करोड १६ लाख रुपैयाँ, सशर्त अनुदान १४ करोड ९० लाख रुपैयाँ, सशर्त अनुदान पुँजीगत ८६ लाख रुपैयाँ, राजस्व बाँडफाँडमा ७ करोड १ लाख ४१ हजार रुपैयाँ, विशेष अनुदान २ करोड २४ लाख रुपैयाँ र समपूरक अनुदानमा ४ करोड १४ लाख रुपैयाँ प्राप्त भएको छ ।

प्रदेशबाट वित्तीय समानीकरण अनुदान १ करोड १४ लाख ५४ हजार रुपैयाँ, सशर्त र समपूरक अनुदान ५०/५० लाख रुपैयाँ, राजस्व बाँडफाँडमा ४५ लाख ७ हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाले जनाएको छ । 

आन्तरिक स्रोतबाट ६ करोड ५ लाख ४३ हजार रुपैयाँ आम्दानी हुने गाउँपालिको अनुमान छ । सामाजिक सुरक्षा भत्ता ७ करोड ४१ लाख २९ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।

यस्तै, गाउँपालिकाले  आज ६४ जनालाई सम्मान समेत गरेको छ । 

कोरोना नियन्त्रणमा खटिएका  ११ जना स्वास्थ्यकर्मीसहित उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, वडा सचिव, प्राविधिक, उपभोक्ता समिति, उत्कृष्ट खेलाडी, शिक्षक, टोल सुधार समिति, प्रहरी, विद्यालय, प्रधानाध्यापक, कलाकार लगायतलाई पनि सम्मान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button