तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा एक वर्षमा १ सय ४१ वटा आत्महत्याका घटना

मकवानपुर । मकवानपुर जिल्लामा एक वर्षमा १ सय ४१ वटा आत्महत्याका घटना भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा १ सय ४१ जनाले आत्महत्या गरेका छन् । 

आत्महत्या गर्नेमा बढी झुन्डिएर मर्ने गरेका पाइएको छ । झुण्डिएरमात्रै ९२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा पाइएको छ । 

गत आर्थिक वर्षको अवधिमा जिल्लाभित्र ५७ जना पुरुष, २६ जना महिला, ४ जना बालक र ५ जना बालिकाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । 

यसै गरी विष सेवन गरेर गत आर्थिक वर्षमा ४८ जनाले आत्महत्या गरेको पाइएको छ । विष सेवन गरेर आत्महत्या गर्नेमा महिला–पुरुष बराबर रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । विष सेवन गरेर पछिल्लो एक वर्षमा २३ जना पुरुष र २३ जना नै महिलाले आत्महत्या गरेका छन् । 

यस्तै, एक–एक जना बालक र बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । गत आर्थिक वर्षमा पानीमा हाम फालेर एक जना महिलाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

एक वर्षमा १३ जनाको हत्या
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा १३ जनाको हत्या भएको पाइएको हो । 

गत आर्थिक वर्षमा कर्तव्य ज्यान मार्ने सम्बन्धी १३ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्यान मार्ने मुद्दामा १८ जनालाई अभियोग लागेको थियो । कर्तव्य ज्यान मार्ने मुद्दाका अभियुक्तमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना प्रतिवादी फरार रहेको उहाँले बताउनुभयो ।

जबरजस्ती करणी मुद्दामा ६१ जनालाई पक्राउ
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणी (बलात्कार) मुद्दामा अभियोग लागेका ६१ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार एक वर्षमा बलात्कार मुद्दाका ६१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत आर्थिक वर्षमा कुल ६५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

प्रहरीकहाँ दर्ता हुन आएका मुद्दामा ७० जनालाई जबरजस्ती करणीको अभियोग लागेको थियो । 

अभियोग लागेकामध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको र ९ जना प्रतिवादी फरार रहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button