तपाईँ सुन्दै हुनुहुन्छः

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

लहान। जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करिब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् ।

फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६/०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो ।

प्रमुख झाका अनुसार सिरहामा ३१५ आवास भवन बनाउने योजना रहेकोमा २०० भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र ११५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५०३ आवास भवन निर्माण गर्नुपर्नेमा २८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २१८ भवन निर्माणाधीन अवस्थामा छ ।

बजेट अभावका कारण आर्थिक वर्ष ०७७/०७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन । सिरहाको औरही–१ देखि ५ सम्ममा ५०० घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य सुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्टाएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो ।

अति विपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६/०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । आव ०७३/०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४/०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button