तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उहाँले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेकार त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग अर्थ मन्त्रालयमा आज आयोजना गर्नुभएको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले संसद्मा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने जानकारी दिनुभयो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश पुनः स्थापित सङ्घीय संसद्मा पेश भइसकेको छ ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको बताउँदै मन्त्री शर्माले सबैको साथ र सहयोगबाट मात्रै आर्थिक गतिविधिलाई बढावा दिन सकिने स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पु¥याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताउनुभयो ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने भन्दै उहाँले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकका सामु रहेका चुनौतीलाई चिरेर सरकारले आमजनताको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने र सुशासन दिनेसमेत स्पष्ट पार्नुभयो । सो अवसरमा सेजनका पूर्वअध्यक्षहरु गोपाल तिवारी, प्रदीप चापागाई, गोकर्ण अवस्थी तथा वर्तमान अध्यक्ष भीम गौतमले अर्थमन्त्रालय र अर्थतन्त्रको सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button