२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कृषि आधुनिकीकरणका लागि १ अर्ब २५ करोडभन्दा बढी लगानी

अजय कुमार झा २०७८ साउन ८ गते १९:२१

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश नंं २ मा सञ्चालन गरेको विभिन्न कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ५५ लाख १६ हजार लगानी गरेको छ । 

तीन तहका सरकारको सहभागितामा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगिकीकरण गरेर मुलुकलाई कृषिमार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनाले जोन, सुपर, ब्लक तथा पकेटको कार्यक्रम सञ्चालन गरेको छ । 

परियोजनाको कृषि सुपर जोन तथा जोन कार्यक्रम सङ्घीय सरकारले स्थापना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय इकाई कार्यालयले सञ्चालन गरेको छ ।

अहिले प्रदेश २मा प्रदेश सरकारमार्फत कृषि ब्लक तथा स्थानीय सरकारमार्फत पकेटको कार्यक्रम सञ्चालनमा भइरहेका छन् ।

परियोजनाले सञ्चालन गरेको सुपर जोन तथा जोन कार्यक्रम अन्तर्गत ३५ करोड २१ लाख १६ हजार लगानी गरेको छ । 

त्यस्तै प्रदेश सरकारको ब्लक कार्यक्रम अन्तर्गत ३६ करोड, ९४ लाख, ४० हजार तथा प्रदेश २ को १ सय ३६ पालिकामार्फत सञ्चालनमा रहेको पकेट कार्यक्रम अन्तर्गत ५३ करोड ४० लाख लगानी गरेको परियोजना समन्वय इकाई जनकपुरधामका प्रमुख यूगल किशोर तिवारीले जानकारी दिनुभयो । 

परियोजनाले प्रदेश नंं २ मा धान, मकै, गहुँ, तरकारी, आलु, आँप, केरा, दूध (गाई, भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), तेलहन दलहनको उत्पादन बढाउने क्षेत्रमा कृषकलाई विभिन्न प्रकारको सहयोग गरेको छ । 

गत आर्थिक वर्षमा कोरोनाका महामारीका कारणले प्रगतिमा केही समस्या भए पनि परियोजनाको हालसम्म ८३ प्रतिशत प्रगति भएको परियोजनाका समन्वय इकाईका प्रमुख तिवारीले जानकारी दिनुभयो । 

परियोजनाले गरेको कामको समीक्षा गर्ने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरिइएको कार्यक्रममा बोल्दै प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य भएको बताउनुभयो । 

उहाँले वित्तीय प्रगतिको कुनै अर्थ हुँदैन भन्दै उत्पादन तथा उत्पादकत्व वृद्धिमा कति प्रगति भयो र लक्षित वर्गका जनताले कति लाभ लियो त्यो महत्त्वपूर्ण विषय भएको बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको पाँच वर्ष बितेकाले यसले लिएको उद्देश्य कति पुरा भयो त्यसको मध्यावधि समीक्षा गर्न आवश्यक भएको नीति आयोगका उपाध्यक्ष झाले बताउनुभयो । 

This image has an empty alt attribute; its file name is 1627038704798-1024x768.jpg

प्रदेश २ को नीति तथा योजना आयोगका सदस्य डा. वैद्यनाथ महतोले मुलुकलाई चामलमा आत्मनिर्भर बनाउनका लागि परियोजनाले धानको क्षेत्रफल बिस्तारमा जोड दिन आवश्यक भएको बताउँदै अपुग रहेको ७ लाख मेट्रिक टन धानको उत्पादन बढाउनका लागि चैते धानका अतिरिक्त बोरो धानको उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक वैकुण्ठ अधिकारीले कोरोना महामारीका बीचमा प्रदेश २ मा भएको प्रगति प्रति सन्तोष व्यक्त गर्दै ब्लक तथा पकेटको कार्यक्रम सन्तोषजनक रुपमा सञ्चालन हुन नसकेका कारणले थप प्रगतिमा समस्या भएको बताउनुभयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजनाका उपनिर्देशक दिबसराज विष्ट तथा प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत अविनाश झाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

परियोजनका ८ जिल्लाका प्रमुखहरूले गरेको कामको बारेमा छुट्टाछुट्टै प्रस्तुति गर्नु भएको थियो ।  

सम्बन्धित