तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा ८७ प्रतिशत रोपाई सम्पन्न, बाग्लुङमा सबै भन्दा धेरै ९६ प्रतिशत रोपाई

File Photo

पोखरा  । साउनको पहिलो हप्ता सम्म आइपुग्दा गण्डकी प्रदेशमा ८७ प्रतिशत रोपाई सम्पन्न भएको छ । 

यस वर्षको साउन पहिलो हप्ता सम्म आइपुग्दा ८७ प्रतिशत रोपाई सकिएको गण्डकी प्रदेशमा १ लाख ५ हजार ३ सय १७ हेक्टर क्षेत्रफलमा रोपाई भएको हो । बर्षायाममा गरिने धान खेती अहिले सम्म गण्डकी प्रदेश भरी ८७ प्रतिशत रोपाई भएको  र अब १३ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । यस बर्ष समयमै मनसुन सक्रिय भएका कारण यो बर्ष धान रोपाई छिट्टै भएको हो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन । अहिले सम्म सबै भन्दा बढी बाग्लुङमा ९६ प्रतिशत रोपाई सकिदा नवलपुरमा ९५ प्रतिशत, स्याङ्जामा ९० प्रतिशत, लमजुङमा ९०  प्रतिशत, म्याग्दीमा ८५ प्रतिशत, तनहुँमा ८३.२ प्रतिशत, गोरखामा ८० प्रतिशत र पर्वतमा ७७.४४ प्रतिशत रोपाई सकिएको छ । यस बर्ष जेठको अन्तिम बटनै मनसुन सक्रिय भएका कारण समयमै खेत रोप्न पाउँदा किसानहरू उत्साहित भएका छन् । 

गण्डकी प्रदेशका किसानले जेठो बुढो, एक्ले, गौरीया रामधान, लोकतन्त्र, मन्सुली, खुमल समूह, गुडुरा लगायतका स्थानीय जातका धान रोप्दै आएका छन् भने हाइब्रिड धान तर्फ किसानले च्याप्यिन, हर्दिनाथ,४४४५ लगायतका धान रोप्दै आएका छन् । पछिल्लो समय हाइब्रिड धान तर्फ किसानको आकर्षण बढ्दै गएको  निर्देशक रेग्मीले जानकारी दिनुभयो । 

स्थानीय जातको धान भन्दा हाइब्रिड धान धेरै फल्ने हुँदा हाइब्रिड धान तर्फ किसानको आकर्षण बढ्दै गएको हो । पहाडी भेगमा हाइब्रिड धान उत्पादन वृद्धि हुँदै आएकोले यस तर्फ अध्ययन अनुसन्धान समेत गर्ने तयारी गरेको रेग्मीले बताउनुभयो । धानको उत्पादकत्व वृद्धि गर्ने योजना अनुरूप कृषि निर्देशनालयले यस वर्षदेखि गण्डकी प्रदेशका ९ जिल्लामा किसान समूहसँग मिलेर धान उत्पादन वृद्धि गर्ने योजना अगाडि सारेको छ । यस वर्ष विभिन्न स्थानमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष देखि त्यहीँ अनुसारको धान खेती विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button