तपाईँ सुन्दै हुनुहुन्छः

मेयर उपमेयरको विवादले चन्दनाथको बजेट प्रभावित : सेवा प्रवाह अस्तव्यस्त

जुम्ला । चन्दननाथ नगरपालिकाका मेयर र उपमेयरको विवादले चालु आव शुरु भइसक्दा समेत अझै बजेट अन्योल अवस्थामा छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८÷२०७९ को बजेटले अझै वैधानिकता पाउन सकेको छैन । बजेट सँगै मेयर उपमेयरको विवादले चन्दननाथमा राजश्व सङ्कलन, दैनिक सेवा प्रवाह समेत प्रभावित भएको छ । 

मेयर कान्तिका सेजुवालका अनुसार गएको असार ३१ गते बहुमत कार्यपालिका सदस्यहरूबाट नीति कार्यक्रम बजेट पारित भएको छ । जसमा ४९ करोड ६८ लाख ६३ हजार बराबरको बजेट बहुमतले पारित भइसकेको मेयर सेजुवालको दाबी छ । 

असार १० मा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेपछि त्यसपछिका छलफल तथा बैठकमा उपमेयर आज भोलि भन्दै टार्दै गएको र बैठकमा समेत नआई चासो नदिएपछि बाध्य भएर असार ३१ गते बजेट पास गरेको मेयर सेजुवालको भनाई छ । जम्मा ५२ जना सदस्यमध्ये २८ जनाको उपस्थितिले बजेट तथा नीति पास भएको मेयरको दाबी छ । 

यता उपमेयर अप्सरादेवी न्यौपानेले चन्दननाथको बजेट पारित नभएको बताउनुभयो ।  उहाँले भन्नुभयो,“हाम्रा असहमति हुँदाहुँदै पेलेर बजेट पारित भयो, हामी मान्दैनौ । यो बजेट वैधानिक छैन ।” 

बजेट निर्माणका कुनै पनि प्रक्रिया नमिलाएर छलफल नगरेरै ल्याएको बजेट मान्य नहुने समेत उपमेयरको न्यौपानेको भनाई छ । उपमेयरको उपस्थिति बिनै गैरकानूनी ढङ्गबाट मेयरले पेलेर पारित गरेको बजेट औचित्य छैन । बहुमत सदस्यहरु मनपरी रुपमा ल्याएको बजेट र नीति कार्यक्रम प्रति असन्तुष्ट रहेको समेत जानकारी दिनुभयो । 

उहाँहरूकै विवादका कारण राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व सङ्कलनमा समेत कठिनाइ भएको कर्मचारीहरूले बताएका छन् । यता राजश्व समितिको बैठकमा आफूलाई कहिले नबोलाएको मेयरको गुनासो छ । भने,हरेक कुरामा मेयर आफु चोखो हुन खोजेको भन्दै आफु सँग समन्वय नगरी पेलेरै बजेट ल्याउन प्रयास भएकाले समस्या भएको उपमेयरको तर्क छ । 

चालु आर्थिक वर्ष शुरु भई साउन पहिलो साता भइसक्दा पनि चन्दननाथको बजेट अझै अनिश्चित छ । राजश्व सङ्कलन अस्तव्यस्त छ । राजश्व तिर्न आउने, सिफारिस लिन आउने सेवाग्राही काम नभएर घर फर्किन बाध्य छन् । 

राजश्व शाखाका कर्मचारी कमल भण्डारी राजश्व परामर्श समितिको बैठक बस्न नसक्दा राजश्वको दररेट कायम नहुँदा राजश्व सङ्कलन ठप्प छ । राजश्व बुझाउन आउने  सेवाग्राहीले सास्ती मात्रै पाएका छन् । यता सेवाग्राही मुनबहादुर नेपालीका अनुसार मेयर उपमेयरको जुँगाको लडाइँले नगरवासीले शुरुवाती देखिनै दुख पाएको गुनासो गर्नुभयो  । 

उहाँले भन्नुभयो,“असारमा सबै ठाउँमा राजश्व तिर्न चटारो हुन्छ । तर नगरपालिमा राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व सङ्कलन ठप्प छ । कसरी नगरको विकास हुन्छ । मेयर उपमेयरको विवादले नगरको आर्थिक, सामाजिक विकासमा बाधा भएको छ ।”

वडा नम्बर ८ का वडाध्यक्ष नरजित दमाईले मेयर उपमेयरको विवादले बजेट प्रभावित भएको साउन १० गते सम्म बजेटलाई वैधानिकता दिन मिलेर आग्रह गरेको बताउनुभयो । नीति तथा कार्यक्रम समयमै पास गर्ने कुरामा धेरै पटक मेयर उपमेयरलाई छलफल गराउन खोज्दा सम्भव नभएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ पौडेलको भनाई छ । 

आन्तरिक विवादका कारण नगरपालिकाको पछिल्लो तीन वर्षको सार्वजनिक सुनुवाइ समेत गर्न सकेको छैन । बजेट ल्याउनु अघि गत आ.व.को सार्वजनिक सुनुवाइ हुनुपर्ने समेत माग गरेको तर मेयरले वास्ता नगरेको उपमेयर अप्सरादेवि न्यौपानेले उल्लेख गर्नुभयो  । 

मेयर उपमेयरको विवाद कायमै रहेको र मेयर बजेट पारित भइसक्यो भन्ने, उपमेयर पक्ष छैन भन्ने अन्यौलताका बीच चन्दननाथको बजेटले कहिले वैधानिकता पाउने टुङ्गो छैन । असार १० गते अनिवार्य रुपमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि चन्दननाथमा अहिले सम्म बजेटको सुनिश्चितता नहुँदा अनुदान कटौती हुने चिन्ता बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button