२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक ढुङ्गाहरूलाई सजाएर पार्क निर्माण (फोटो फिचर)

अशोक विश्वकर्मा २०७८ साउन ७ गते १५:१०

तनहुँ  । तनहुँको भिमाद नगरपालिका–९ मा परापुर्वक कालदेखि रहेका प्राकृतिक ढुङ्गाहरूलाई सजाएर पार्क निर्माण गरिएको छ । 

झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामा नै सीमित भए पनि अहिले तिनै ढुङ्गालाई सिँगारेर चिटिक्कको पार्क बनाइएको हो । 

डिभिजन बन कार्यालय तनहुँको आर्थिक सहयोगमा पार्क निर्माण भएपछि बेवारिसे अवस्थामा रहेको मोहोरियाको अहिले चर्चा चुलिन थालेको छ । सिँगारपछिको दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मोहोरिया जानका लागि लालायित बन्ने पर्यटकहरू ह्वात्तै बढेको पाइन्छ ।
जङ्गलमा बेवारिसे ढुङ्गा सिँगारिएला र चिटिक्कको पार्क बन्ला भन्ने कल्पना समेत नभएको स्थानीय बाबुराम राना बताउनुहुन्छ  । वडा सदस्य समेत रहनुभएका राना भन्नुहुन्छ “जङ्गलको बिचमा थियो । परार साल जङ्गल फाँडेर देखिने बनायौँ । अहिले पार्क बनेको छ । यस्तो राम्रो पार्क बन्ला भनेर कसैले चिताएका थिएनौँ ।”

गण्डकी प्रदेश सरकार मातहत अन्तर्गत डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट उक्त पार्क निर्माण गरेको हो  । २० लाख रुपैयाँको लगानीमा पार्क बनाएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उक्त पार्क निमार्णका लागि स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका छन् ।

उहाँका अनुसार पार्कमा चराको गुँड बनाइएको छ । ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । पार्कको घाङ्च ल्हुम आसपास ढुङ्गाले चिनेर चिटिक्क पैदल मार्ग बनाइएको छ । चराचुरुङ्गी आकर्षित गर्न चेरीको बिरुवा रोपिएको छ । 

कार्यालय प्रमुख काफ्लेले पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आम्दानीको स्रोतका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

पार्कलाई सोही वडा अन्तर्गत पर्ने प्रसिद्ध चारतले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्गसँग जोड्ने योजना रहेको वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । 

उहाँले निकट भविष्यमा सिद्ध गुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्यु टावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फुलको बगान सहितको पदमार्ग बनाउने लक्ष्य रहेको बताउनुभयो । 

चमेरो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङ सहितको सिँढी बनाइएको छ । 

गत बर्ष विनियोजित २० लाख रुपैयाँ बजेटले ४ सय मिटर रेलिङ सहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण भएको हो ।

सम्बन्धित