तपाईँ सुन्दै हुनुहुन्छः

आज थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौँ । कोरोना भाइरसबाट आज थप २ हजार ८ सय ३८ जना संक्रमित भएका छन् । 


आज ८ हजार ७ सय १५ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय १८ जना तथा ३ हजार ९ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस २० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका सह–प्रवक्ता डा समीर कुमार अधिकारीले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा ४ सय ९० ललितपुरमा १ सय २८ र भक्तपुरमा ७९ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ६ सय ९७ जना संक्रमित थपिएका छन् । 


यस्तै आज थप १ हजार ४ सय ७५ जना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । 


डा. अधिकारीले दिनुभएको जानकारी अनुसार आज थप ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ६ सय ३७ पुगेको छ । 


यसैबीच  पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमणको जोखिम निरन्तर बढ्दै हुनाले थप सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 

असारको सुरुदेखि निरन्तर घट्दै गएको संक्रमण दर गएको हप्तादेखि पुनः बढ्न थालेको तथा सुदूर पश्चिम प्रदेशका केही जिल्लामा परीक्षणको ४८ प्रतिशत सम्ममा संक्रमण पुष्टि हुने गरेको मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले बताउनुभयो । 


एक हप्ता अगाडि सम्म ९ वटा जिल्लामा मात्रै ५ सय जना भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज सम्मको तथ्याङ्कमा ३ जिल्ला थप भएर १२ पुगेको छ ।


मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने सङ्क्रमितको सङ्ख्या परीक्षणका दायरामा आएका व्यक्तिहरूको मात्रै भएको र समुदायमा पहिचान हुन बाँकी ठूलो सङ्ख्यामा संक्रमित हुन सक्ने तथ्यलाई ध्यानमा राखी सबै सङ्क्रमितलाई परीक्षणको दायरामा ल्याउन आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button