तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारको भत्ता तथा इन्धनमा २५ करोड बढी खर्च

जनकपुरधाम । प्रदेश २ सरकारले गत आर्थिक वर्षमा भत्ता र इन्धन लगायतका शीर्षकमा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । 


प्रदेश सरकारले आर्थिक ०७७–७८ मा मुख्यमन्त्री तथा मन्त्रीहरू एवं अन्य पदाधिकारीहरूको पारिश्रमिक भत्ता, अन्य भत्ता तथा इन्धनको नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको छ ।


प्रदेश सरकारमा मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कूल १३ जना पदाधिकारीमा सो रकम खर्च गरेको थियो । एक वर्षमा पारिश्रमिक भत्ता, बैठक भत्ता, अन्य सुविधा भत्ता र इन्धनको नाममा २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको लेखा नियन्त्रक कार्यालयले उपलब्ध गरेको विवरणमा उल्लेख रहेको छ ।


प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक बापतको भत्ताका नाममा १८ करोड १६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ खर्च गरेका छन् । उक्त शीर्षकमा २१ करोड २६ लाख २ हजार रुपैयाँ विनियोजन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख राधेश्याम गिरीले जानकारी दिनुभयो ।

यसैगरी पदाधिकारीहरूको बैठक भत्ता शीर्षकमा एक करोड ८९ लाख १८ हजार २ सय ५३ रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा २ करोड ९४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको थियो । कोरोनाका कारणले पनि विनियोजन गरेको बजेट भन्दा कम खर्च भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button