तपाईँ सुन्दै हुनुहुन्छः

उहाँकै सदाबहार गीत प्रस्तुत गरी सम्झियो गायक अरुण थापालाई

 

भक्तपुर  । थोरै भए पनि कालजयी गीत गाएर लोकप्रिय र अमर बन्न सफल हुनुभएका गायक हुनुहुन्छ स्व. अरुण थापा ।

भक्तपुर साङ्गीतिक समाजले सदाबहार गायक थापाको सम्झनामा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । 

थापाको २२औँ स्मृति दिवसको अवसर पारेर साङ्गीतिक समाजले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गायक थापाले गाउनुभएका लोकप्रिय गीतहरूलाई विभिन्न नयाँ तथा पुराना कलाकारहरूले प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय गीत करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल बोलको धुनबाट सुरु भएको साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रममा गायक शम्भोचरण राजभण्डारीले तिमी राम राम भजि बाँच भन्ने कामना गर्नुभयो ।  वरिष्ठ गायक सत्य नारायण प्रजापतिले चोट के हो ब्यथा के को गीतमार्फत गायक थापाको निधनबाट साङ्गीतिक क्षेत्रमा परेको चोट सम्झाउनुभयो । 

भक्तपुर साङ्गीतिक समाजका उपाध्यक्ष समेत रहनुभएका गायक कपिल कसपालले ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ गीतमार्फत गीतसङ्गीत क्षेत्रका वसन्त बन्नुभएका  थापाप्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो । 

गायक बिजेन्द्र चवालले भुलु भुलु लाग्यो बोलको गीत गाउँदै गायक थापालाई भुल्न नहुनेमा जोड कुरामा जोड दिनुभयो । 

यसै गरी गायक कुबेर राईले जति माया लाए पनि जति कसम खाए पनि बोलको गीत स्वर्गीय थापाको स्मृतिमा समर्पण गर्नुभयो भने आँखाको निन्द्य चोरी लाने बोलको गीतलाई गायक श्रीजल मधुकर्मीले प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा गायक सुनिल लोहलाले लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको सङ्गीत क्षेत्रकै कथा सम्झाउनुभयो ।

साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिँदै थापाको सम्झनामा गरिएको समाजको यो चौथो कार्यक्रम हो ।

नेपाली गीत सङ्गीतको संरक्षण र संवर्द्धनमा समर्पित संस्था समाजले गीत सङ्गीतमार्फत सदाबहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्न कार्यक्रम गरिएको समाजका सचिव अल्बर्ट बज्राचार्यले जानकारी दिनुभयो । 

कोभिड–१९ का कारण विगतको जस्तो धेरै सङ्ख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उहाँले सङ्ख्यात्मक रुपमा थोरै मानिसहरूको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

भक्तपुर दुधपाटीस्थित होटल ‘दि तिशा इन’ मा सम्पन्न भएको कार्यक्रममा थापालाई उहाँले नै गाउनुभएका गीत सङ्गीतमार्फत सम्झना गरिएको हो । २००८ सालमा जन्मिनुभएका थापाको २०५६ साल साउन ५ मा काठमाडौँमा निधन भएको थियो ।

उक्त अवसरमा गायक थापाको कर्णप्रिय गीत चोट के हो ब्यथा के हो का रचनाकार समेत रहनुभएका वरिष्ठ गीतकार सुवास चन्द्र ढुङ्गेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीले गायक थापा जस्तै अन्य सदाबहार गायक गायिकालाई पनि समाजले सम्झनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button