तपाईँ सुन्दै हुनुहुन्छः

विपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ ।

बिपी जयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले निरङ्कुश राणा शासनविरुद्ध मोर्चा खडा गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उहाँले पु¥याउनुभएको योगदान र प्राप्त उपलब्धिको समीक्षा गर्नुभयो ।

सो अवसरमा परराष्ट्र मामिलाका जानकार प्राध्यापक जयराज आचार्यले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा विपीले आजीवन योगदान गर्नुभएको स्मरण गर्नुभयो । बिपीको अन्तिम चार वर्षमा भएका भेटघाट र छलफल प्रजातन्त्र, राजनीति र साहित्य क्षेत्रका विषयमा कुरा गर्नुभएका प्राध्यापक आचार्यले नेपालका आदर्श र जीवनलाई प्रभावित तुल्याउने व्यक्तिका रुपमा बिपी र प्राध्यापक यदुनाथ खनाललाई लिने गरेको बताउनुहुन्छ ।

प्राध्यापक आचार्य भन्नुहुन्छ, “बिपीबाट २००७ सालको आन्दोलनको नेतृत्व भए तापनि १७ साल नेपालको इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रमुख सिकार बिपी र लोकतान्त्रिक प्रणाली भयो । त्यसपछि उहाँकै नेतृत्वमा ३० वर्ष सङ्घर्ष भयो, २०४६ सालको जनआन्दोलन पनि बिपी जीवित नभए पनि त्यसको पछाडि उहाँकै प्रेरणा थियो ।”

बिपी कोइराला प्रधानमन्त्री र पार्टी सभापति मात्र होइन, एउटा प्रजातान्त्रिक सङ्घर्षको आदर्श प्रतीकका रुपमा जीवित रहिरहनुभएको छ । विसं २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाइ मतका साथ नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपीलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी जेल पठाएका थिए । मुलुकमा त्यो घटनालाई २०१७ सालको ‘कु’ को संज्ञा दिने गरिन्छ ।

विसं २००७ को क्रान्तिको उपलब्धि स्थापित गर्न २०१५ सालको आम निर्वाचनसम्मको अवधिमा बिपीलाई ठूलो सङ्घर्ष गर्नुपरेको थियो । बिपीकै समग्र योजनाअनुरूप राजारजौटा उन्मूलन, गुठी जग्गा रैकर, विर्ता प्रथा उन्मूलन, मोहियानी हक लागू, त्रिभुवन विश्वविद्यालय स्थापनालगायत नेपाली समाजमा आमूल परिवर्तन गर्ने दूरगामी कार्यक्रम अघि बढी रहेकै बेला १७ सालको घटना भयो ।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वाचनमा बसेर नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि सक्रिय बिपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो । उहाँलाई क्यान्सर भएपछि तत्कालीन पञ्चायत सरकारले २०३५ सालमा उपचारका लागि विदेश जाने अनुमति दियो ।

त्यसपछि विकसित राजनीतिक घटनालाई विश्लेषण गर्दै बहुदल वा सुधारसहितको पञ्चायती व्यवस्था रोज्न दिन जनमत सङ्ग्रह घोषणा गरे तापनि पञ्चायतलाई टिकाउन जालझेल गरी निर्वाचनको परिणाम त्यसतर्फ भएको नतिजा सार्वजनिक गरियो । यो घटनालाई नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ ।

नेपालका समकालीन राजनीतिबिचमा अध्ययनशील, साहित्यकार, अनुभवी, प्रजातन्त्रप्रति प्रतिबद्ध बिपीलाई अहिले राजनीतिमा देखिएको विश्वासको खडेरीले उहाँलाई झल्झली सम्झना गरेको छ । सडक, सञ्चार, शिक्षा नभएको तथा गरिबी र अन्धकारको चरम अवस्थामा पनि सबै जनतालाई निर्वाचनमा भाग लिने सुनिश्चिताले बिपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धलाई स्पष्ट गरेका कूटनीतिज्ञ आचार्य बताउनुहुन्छ ।

उहाँले नेपाली भाषाका प्रभावशाली साहित्यकार पनि स्थान प्राप्त गर्नुभएको छ । २०१७ सालको काण्डपछि विपीले ८ वर्ष जेलजीवन बिताउनुभयो । उहाँले अधिकांश उपन्यास त्यही समयमा लेख्नुभयो । राजा महेन्द्र जहाँ पुग्दा पनि पत्रकारले त्यस समयमा सोध्ने एउटै प्रश्न थियो, बिपी कहिले जेलबाट छुट्नुहुन्छ ? महेन्द्रलाई बिपी बिर्साउन सम्भव थिएन । बिपी जेलमा होस् वा बाहिर जहाँ रहे पनि प्रजातन्त्रका लागि बिपीको सङ्घर्षको गाथा सबैले नजिकबाट नियालिरहेका थिए । यसअघि अङ्ग्रेज विरुद्धको भारत छोड आन्दोलनमा अग्र मोर्चामा रही योगदान पु¥याउनुभएका बिपीमा लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य प्रमुख एजेन्डा थियो ।

विसं १९७१ भदौ २४ मा जन्मनुभएका बिपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । उहाँको निधनप्रति शोक व्यक्त गर्न आङ्कलन गरिएभन्दा निकै धेरै नागरिक पशुपति पुगेका थिए । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी भन्नुहुन्छ, “बिपीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नेको भीड पशुपतिदेखि पुतलीसडकसम्म रहेको र त्यसअघि यति ठूलो मानिसको सहभागिता कहिल्यै देखेको थिइनँ ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा बिपीको योगदान युगौँ युगसम्म ताजा रही रहने प्रतिक्रिया दिनुभयो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक जगत् नेपालले मुलुकको प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन र बिपी एक अर्काको पर्याय रहेको धारणा व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button